तनहुँ
मंगलबार दिउँसो पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले दादागिरी देखाए । उनले एकैदिन महानगरका कर्मचारी र व्यापारीलाई कुट्न भ्याएका छन् ।
बुधबार उनी पोखरा महानगरपालिका–१६ ढिकीडाँडाबाट पक्राउ परेका छन् । वडाध्यक्ष पराजुलीलाई व्यापारी कुटेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए ।
देवकृष्णले पन्थीगल्लीमा कस्मेटिक्सको व्यापार गर्ने लेखनाथ सुवेदीलाई कुटेको आरोप छ । पन्थीगल्लीमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका सुवेदीलाई वडाध्यक्षले फुटपाथ मिचेको भन्दै हातपातमा उत्रिएको बताइन्छ ।
‘मापदण्डका विषयमा कुरा गर्दा नाकमा घोच्ने, पेटमा घोच्ने गर्दै अघि बढेपछि प्रतिरक्षा गरेकोमात्र हुँ’ वडाध्यक्ष पराजुलीले भनेका थिए ।
पन्थीगल्लीका व्यापारीहरु मंगलबार नै वडाध्यक्षको कुटपिटको विरोधमा जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जाहेरी दर्ता भएन । बुधबार अभद्र व्यवहार मुद्वामा जाहेरी दर्ता भएपछि पक्राउ गरिएको डिएसपी बस्नेत बताउँछन् । ‘कर्मचारी कुटपिटको विरुद्धमा जाहेरी परेको छैन’, उनले भने ।
वडाध्यक्षले व्यापारीलाई कुट्नु पहिले नै महानगरका कर्मचारी कुटेको खुलेको छ । मंगलबार विहान प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको कार्यकक्षमा प्रशासन महाशाखा प्रमुख ईश्वरीप्रसाद पोखरेललाई हातपात गरेका थिए ।
कर्मचारीलाई तालिममा पठाउनलाई सल्लाह नगरेको भन्दै आफुमाथि वडाध्यक्ष हातपातमा उत्रिएको प्रशासन महाशाखा प्रमुख पोखरेलको भनाइ छ । वडाध्यक्षले पराजुलीले मादक पदार्थसमेत सेवन गरेको पोखरेल आरोप लगाउँछन् ।
कुटपिटको विरोधमा कर्मचारीले महानगर र वडा कार्यालयको सेवा बुधबार दिनैभर ठप्प पारे । स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकिकृत सरकारी कर्मचारी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षलाई कारबाही गर्न माग गरेका छन् ।