+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही हुन्छः कास्की प्रहरी

तनहुँ खबर
१० महिना अगाडी

पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासत कक्षामा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने बताएको छ । कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान र कारवाही गर्ने प्रहरीले चेतावनी दिएको हो ।

सहकारी ठगी, सम्पत्ती शुद्धिकरण र संगठित अपराधको कुुसुरको अनुसन्धानलाई प्रभाव पार्नेगरी तस्बिर प्रकाशित भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । ‘प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको अनधिकृत तस्विर प्रति गम्भिर ध्यानाकर्षण भएको छ’, शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नु पर्ने व्यवस्था रहेको उनको भनाइ छ । प्रचलित साईबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्नलाई कारबाही गर्ने शर्माले बताए ।

‘कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारवाही गरिनेछ । नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दछ’, विज्ञप्तिमा जारी गर्दै शर्माले भनेका छन् ।

गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशिल रही सूचना र समाचार सम्प्रेषण गर्न उनको अनुरोध छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक रहेका डा. निकोलस भुषालले रविको हिरासतको तस्बिर आफूले खिचेर सार्वजनिक गरेको स्वीकार गरेका छन् ।


कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ परेका लामीछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्धको मुद्वामा अनुसन्धान सकाएर पुस १ गते रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । प्रतिवेदनले ५१ जनालाई प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर