काठमाडौँ– वर्ष २०७९ नेपाली चलचित्रका लागि फलदायी रह्यो । कोरोना भाइरसको महामारी र ओभर दी टप अर्थात् ओटिटीको बढ्दो दर्शकका कारण वर्षको सुरुआतमा चलचित्र क्षेत्रले पुरानै लय समात्ला रु भन्ने जिज्ञासा थियो । विस्तारै दर्शक चलचित्र भवनमा बढ्दै गर्दा वर्षको पहिलो दिन नै प्रदर्शन भएको ‘ए मेरो हजुर ४’ ले राम्रो सङ्केत देखायो । पर्ख र हेरको अवस्थामा रहेका चलचित्रकर्मीले प्रदर्शन मिति तय गर्न थाले ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २०७९ सालमा नेपाली ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भए । यही वर्ष प्रदर्शन भएको चलचित्र ‘कबड्डी ४: द फाइनल म्याच’ घरेलु बजारमा सर्वाधिक कमाइ गर्न सफल रह्यो । बोर्डको विवरणअनुसार चलचित्रको २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार भएको छ । यो सङ्ख्यामा घरेलु बजारमा अहिलेसम्म कुनै नेपाली चलचित्रले व्यापार गर्न सकेको छैन ।
विशेषतः वर्ष २०७९ मा हास्य विधाका चलचित्रमा दर्शकको रुचि भएको पाइयो । मुनाफा आर्जन गर्ने अधिकांश चलचित्र हास्य विधामै रहेर निर्माण भएका छन् । यसका साथै शृङ्खलाबद्ध रूपमा आएका चलचित्र पनि दर्शकको रोजाइमा परेका छन् । यी बाहेक सफल हुने चलचित्रको सङ्ख्या न्यून छ । हास्य विधामा रहेर निर्माण भएका ‘कबड्डी ४ ः द फाइनल म्याच’, ‘झिङ्गेदाउ’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’, ‘महापुरुष’ र ‘छक्का पञ्जा ४’ सफल भए । शृङ्खलाबद्ध रूपमा यी बाहेक ‘ए मेरो हजुर ४’, ‘प्रेम गीत ३’ सफल रह्यो । सामाजिक विषयवस्तु उठान गरिएको चलचित्र ‘फूलबारी’ ले राम्रो व्यापार गर्यो ।
उल्लिखित चलचित्रहरूमा हास्य विधा हावी छ । दर्शकले खुसी खोजिरहेको निर्देशक प्रदीप भट्टराईले बताए । “सायद अहिले समाजमा हाँसोको अभाव भएको हो कि ? जे अभाव हुन्छ त्यसैको माग बढी हुन्छ । सफल भएका चलचित्र हास्य विधामा छन् । यसले खुसी दिएको छ, चुनौती पनि थपेको छ”, उनले भने, “कुनै समय सानो पर्दामा दिनहुँ जसो हास्यशृङ्खला आउँथे । लोकप्रिय थिए तर अहिले अवस्था फेरिएको छ । त्यसैले जति दर्शकको विश्वास बढ्छ, त्यति नै दायित्व पनि ।” उनले भने झैँ अहिले हास्य विधामा चलचित्र बनाउने लहर झैँ छ । प्रायः चलचित्रको प्रस्तुतीकरणमा हास्य शैली जोडिन्छ । योसँगै शृङ्खलाबद्ध रूपमा आएका चलचित्रमा दर्शकको विश्वास देखिएको छ । ‘कबड्डी ४ ः द फाइनल म्याच’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्दा दोस्रो स्थानमा ‘छक्का पञ्जा ४’ छ भने तेस्रो स्थानमा ‘प्रेम गीत ३’ ।
“शृङ्खलाबद्ध रूपमा आउने चलचित्रमा दर्शक पहिले परिचित भएका हुन्छन् । पात्र र परिवेश बुझ्ने हुँदा ती चलचित्रको प्रचारप्रसार पनि सहज हुन्छ । त्यसैले त्यस्ता चलचित्रमा निर्माता र दर्शकको आकर्षण मिलेको छ”, वितरक करण श्रेष्ठले भने, “जाँदै गरेको वर्षको सूची हेर्न हो भने शृङ्खलाबद्ध रूपमा आएका र विश्वस्त समूहले निर्माण गरेका चलचित्र सफल रहे ।”
चलेका कलाकार र समूह नहुँदा पनि सफल भएको चलचित्र हो ‘झिङ्गेदाउ’ । यसलाई चलचित्रको भाषामा ‘क्लिन हिट’ भनिन्छ । जहाँ चलेका कलाकार वा निर्देशक हुँदैनन् । वषौंपछि निर्देशनमा आएका ज्ञानेन्द्र देउजाले नेपालीपन अझै दर्शकको रोजाइमा रहेको बताए। “मैले निर्देशन प्रारम्भ गर्दा नै साँचेको कथा हो । मैले बजारअनुसार आफूलाई प्रस्तुत गर्दै गर्दा यसलाई कागजमै सीमित राखेँ । तर आफैँ निर्माता बन्दा यो कथा पर्दामा ल्याउनुपर्छ भन्ने लागेर निर्देशन गरेँ”, उनले भने । उनले अहिले चलचित्रको बजेट महँगो भएकाले धेरै निर्माताले घाटा बेहोर्नुपरेको बताए । कलाकारको पारिश्रमिककै कारण निर्माण लागत बढिरहेको उनको निष्कर्ष छ । यद्यपि बजारबाट गर्ने व्यापारका आधारमा कलाकारलाई पारिश्रमिक दिनुपर्नेमा उनी सहमत छन् ।
“पचासको दशकमा बन्ने चलचित्रमा कलाकारले लिने पारिश्रमिकको तुलनमामा पाँच÷छ गुना बढी व्यापार हुन्थ्यो । तर अहिले कलाकारको पारिश्रमिककै कारण बढिरहेको बजेटले हामी जस्ता चलचित्र बुझेकाहरू अगाडि आउन कठिन भइरहेको छ”, निर्देशक देउजाले भने ।
निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ वर्ष २०७९ देखि सन्तुष्ट छन् । ओटिटीका कारण विश्वका चलचित्र सहजै हेर्ने वातावरणमा नेपाली चलचित्रले गरिरहेको व्यापारले निराश बनाउने उनले बताए । “हाम्रो बजारको सम्भावना त देखिसकेका छौँ । नेपाली मात्र नभई विदेशी चलचित्रले गर्ने व्यापारले पनि बजार छ भन्ने प्रमाणित गरेको छ”, निर्माता बानियाँले भने, “दर्शकको विश्वास जितिरहेका निर्माता तथा निर्देशकले निराश नबनाउने हो भने हाम्रो सम्भावना राम्रो छ । बजार अझै बढ्नेमा विश्वस्त छु ।”
स्टारडम नचलेको वर्ष
वर्ष २०७९ स्टार भनिने कलाकारका लागि सुखद रहेन । अभिनयभन्दा पनि पारिश्रमिकका कारण चर्चामा आइरहने अनमोल केसी, प्रदीप खड्का, धीरज मगर, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्रले न त राम्रो व्यवसाय नै गर्न सके न त समीक्षा नै राम्रो पाए ।
अभिनेता केसी अभिनित दुई चलचित्र प्रदर्शन भयो । ‘ए मेरो हजुर ४’ ले बक्स अफिसमा राम्रो व्यापार गरेता पनि उनको अभिनयले तारिफ पाउन सकेन । चलचित्रलाई समीक्षकले राम्रो भनेनन् । त्यसपछि प्रदर्शन भएको चलचित्र ‘२.० छड्के’ ले अभिनेता केसीको पारिश्रमिक बराबरको ग्रस व्यापारसमेत गरेन । बोर्डको सार्वजनिक विवरणअनुसार ‘ए मेरो हजुर ४’ को तीन करोड ३८ लाख ७७ लाख चार सय २४ रुपैयाँ र ‘२.० छड्के’ ले २७ लाख ६६ हजार छ सय ३३ रुपैयाँको ग्रस व्यापार गरेको छ ।
यस्तै, अभिनेता खड्का अभिनित ‘प्रेम गीत ३’ बक्सअफिसमा सफल भयो । नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको चलचित्रले दश करोडको व्यापार गरेको छ । यद्यपि शृङ्खलाकै कमजोर चलचित्रका रूपमा समीक्षा भयो । उहाँ अभिनित अर्को चलचित्र ‘प्रकाश’ ले दर्शक पाउन सकेन । चलचित्रले एक करोड ५७ लाख आठ हजार ६ सय ८८ रुपैयाँको व्यापार गरेको छ ।
यस्तै, अभिनेत्री शर्मा अभिनित दुई चलचित्र ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’ सफल हुन सकेनन् । बोर्डको विवरणअनुसार ‘सम्झना बिर्सना’को २१ लाख ३४ हजार दुई सय ८० रुपैयाँ र ‘सम्हालिन्छ कहिले मन’को ७५ लाख २४ हजार चार सय ७५ रुपैयाँको व्यापार भएको छ ।
यस्तै, अभिनेत्री शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को १० लाख १२ हजार सात सय ८२ रुपैयाँ र ‘ह्यारी कि प्यारी’को ७४ लाख १६ हजार दुई सय ६९ रुपैयाँको व्यापार भएको छ । अर्थात दर्शक उनीहरु चलचित्रमा भएका कारण हलसम्म आएनन् ।
सर्वाधिक कमाइ गर्ने पाँच चलचित्र
‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको ‘कबड्डी ४– द फाइनल म्याच’ सर्वाधिक कमाउने चलचित्र बन्यो । रामबाबु गुरुङले निर्देशन गरेका चलचित्रले बोर्डको विवरणअनुसार सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ ग्रस व्यापार गर्न सफल भएको छ ।
हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरे । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ ग्रस व्यापार गरेको छ ।
प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा निर्माण भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठलगायतको अभिनय छ ।
चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकट बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ ।
चलचित्र ‘महापुरुष’ ले दुई लाख ४७ हजार पाँच सय १७ टिकट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार छ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।
दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार छ सय ३९ टिकट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० को ग्रस कलेक्सन भएको छ ।