सन्तानले डाँडाकाँडा ढाँकुन भन्दै शुभ साइतमा टिका लगाएर आशीर्वाद दिने समयलाई आज दुई सन्तान ईश्वरका बरदान भन्ने आम मनोविज्ञानले प्रतिस्थापन गरेको छ । प्रविधिको विकास र त्यसको सहज पहुँचले आज समाज निकै परिवर्तन भएको छ । चाहे त्यो सकारात्मक होस वा नकारात्मक । ब्यक्तिको चाहना, परिवारको स्वरुप र सामाजिक आवश्यकतामा परिवर्तन हुँदा समाजको पृष्ठभूमि समेत बदलिएको छ । भौतिक विकास र विश्वव्यापिकरण मानव जीवन लाई भौतिक रुपमा सुखी बनाएको देखिए पनि व्यवहारिक रुपमा यसले सृजना गरेका समस्याहरू समेत अदृष्य रुपमा विकराल बन्दै गएका छन ।यसले समाजमा जटिल चुनौतीको सिर्जना गरेको छ । परिवार एकल बन्दै छ । एकल परिवारका सन्तान समेत देशमा राख्न सक्ने अवस्था छैन । एकल परिवारको वृद्ध समाज एक्लोपनामा रूपान्तरित हुन बाध्य भएको छ ।
अहिले हाम्रो मुलुकमा छोराछोरीलाई बिदेश पढन पठाउनु छोराछोरीको चाहना मात्र नभएर आमा बाबुको सामाजिक प्रतिष्ठाको विषय समेत बन्न पुगेको छ । एकातिर छोराछोरी विदेश पढन पठाउनुलाई समाजमा प्रतिष्ठाको विषय बनाउने तर अर्कोतिर बुढेसकालमा छोराछोरी आफ्नो साथमा नभएको भनेर सामाजिक सञ्जाल तताउदा आजको युवा पुस्ता निकै तनावमा रहेको पाइन्छ । अध्ययनको लागि होस वा पेशा व्यवसायको लागि घर छाडेका युवा एकल परिवारको रुपमा बस्न बाध्य छन । विभिन्न कारणले दुई पुस्ता दुई तिर एक्ला एक्लै बस्न बाध्य बनिरहँदा परिवारमा दोहोरो समस्या सृजना भएको देखिन्छ । एकातिर शहरमा श्रीमान श्रीमती जागिरे हुँदा छोरा बुहारी बच्चा हुर्काउन समेत नसक्ने अवस्थामा पुगेका छन भने अर्को तर्फ गाउँमा बृद्ध बुबा आमालाई बिरामी भएको अवस्थामा तातो पानी दिने व्यक्ति समेत नभएर बेसहारा अवस्थामा बस्नु पर्ने अवस्था सिर्जना भएको छ ।
दुवै पुस्ता एक्लो बसाइ बाट सृजित समस्या झेल्न नसकेर एक अर्का सँग असहमत छन । यस प्रकारका अदृश्य पारिवारिक तथा सामाजिक सदस्यहरू बढ्दै जाँदा यसले विकराल समस्या सृजना गर्ने देखिन्छ । अहिले श्रीमान श्रीमती दुवै आ आफ्नो पेशा व्यवसायमा लागेको एकल परिवारमा दुवैलाई आ-आफ्नै करियरमा समय दिनुपर्ने बाध्यात्मक अवस्था छ । एकले अर्कोलाई सहयोग गर्न सक्ने अवस्था रहेन । त्यसो हुँदा घरायसी काममा कसले समय दिने ? घरायसी कामको व्यवस्थापन कसरी गर्ने ? बच्चाको हेरचाह तथा पढाईको लागि समय कसले दिने ? श्रीमान श्रीमतीका वृद्ध बुबा आमाको हेरचाह तथा औषधि उपचारको लागि लागि समय व्यवस्थापन कसरी गर्ने ? यि सवै बदलिदो समयले सृजना गरेको एकल परिवारका अब्यक्त पिडादायि समस्याहरू हुन । एकल परिवारका दुवै जना सदस्यले काम नगर्दा आजको महगिमा सहज रुपमा परिवार चल्ने अवस्था छैन । काम गर्दा घरायसि तथा सामाजिक जिम्मेवारी पुरा गर्न सक्ने अवस्था छैन । क्रमिक रुपमा बिकसित हुदै गरेको समाजमा परिवारको लागि यो ठुलो समस्या बनेको छ भने राज्यको लागि चुनौति बन्दै गएको छ । यस वारेमा राज्यले ठोस योजना बनाउन आवस्यक देखिन्छ ।
ब्यक्तिगत रुपमा तपाई कति नैतिकवान, पेशा प्रति ईमान्दार, राष्ट्रप्रति समर्पित नागरिक हुनुहुन्छ रु समाजमा त्यसको कुनै मूल्य छैन । वस तपाईले कति सम्पत्ति आर्जन गर्नु भएको छ । समाजमा त्यसको मात्रै मुल्य छ । जुन सुकै श्रोतले सम्पत्ति आर्जन गरेता पनि घर, आफन्त र समाजले श्रोत भन्दा बढि सम्पत्ति कसरी आर्जन भयो ? भनेर कहिल्यै प्रश्न गर्दैन । गर्छ त केवल ईमानमा बस्ने व्यक्ति माथि, फलानोले जिवनमा केहि गर्न सकेन । समाजको मनोविज्ञानले ब्यक्तिगत उन्नति र प्रगतिको मापन सम्पत्ति आर्जन नभएर ब्यक्तिगत ईमान्दारितालाई नअगाल्दा सम्म बढ्दै गएको सामाजिक बिकृति र समस्याहरुलाई समाधान गर्न सकिने छैन । राज्यलाई आफ्ना नागरिक माथि विस्वास छैन । नागरिकताको प्रमाण पत्र र शैक्षिक प्रमाण पत्रको आधारमा राज्यले नागरिकलाई लगानि गर्ने बिद्यमान अवस्था र कानुनी ब्यवस्था दुवै छैन । निम्न वर्गिय परिवारमा जन्मिएको ब्यक्तिसँग सो वाहेक अरु केहि हुदैन । देशमा रोजगारीको सहज अवस्था छैन । त्यसैले निर्विकल्प एउटा मात्र बिकल्प छ, विदेश यात्रा ।
चाहेर होस वा नचाहेर कुनै पनि सरकारले आजको मिति सम्म स्वदेशमा सहज रुपमा गरि खान दिने अवस्था सृजना गरेन । यहि पद्धति र प्रबृत्तिले भोलिको दिनमा सुधार आउला भन्न सकिने अवस्था देखिदैन । अस्त ब्यस्त बसाईले परिवारमा सम्वन्ध बिच्छेदको दर बढदो छ । बढयौलि पुस्ता बेसाहार भएर रोग संग लडदै बसेको छ । बालबालिका जेष्ठ नागरिकसँग ईतिहास र संस्कार सिक्न सकेका छैनन । त्यसैले यस्ता समस्या समाधानका लागि ब्यक्ति, समाज र राज्यले बेलैमा सोच्न आवस्यक देखिन्छ ।