कहीं छैन यो भन्दा ठूलो धाम
सबै लोक तर्छन् बोलेर श्रीराम ।
दुई अक्षरको दिव्य पवित्र नाम
पुकारौं सबैले बोलेर जय श्रीराम ।
धर्म,संस्कृतिले नै मानव जातिलाई सभ्यताको मार्गमा डोर्याएको हुन्छ । जति नै सापेक्षता र निरपेक्षताका कुरा गरे पनि आजको अवस्थामा आईपुग्न मानव जातिलाई धर्मको गतिलो वैशाखीको मद्दत मिलेको कुरा अकाट्य छ । धर्मको एक अंशका रुपमा संस्कृतिको प्रादूर्भाव भएको हो । संस्कृतिको अवलम्वन गरेर मात्र हरेक क्षेत्रका मानव जाति सभ्यताको शिखरमा आईपुगेका हुन् । सभ्यताको शिखर आरोहण गर्दा आदर्श र मर्यादा दुई सूत्रले मात्र गन्तव्य निर्धारण गर्दछ जसलाई भगवान श्रीरामले अवलम्वन गरेका थिए जुन आज दृष्टान्तका रुपमा हिन्दु सभ्यतामा सर्वव्यापक भएको छ । आदर्शको प्रसङ्ग उठान गर्दा जो कोहीले पनि कार्य गर्दा आत्मा मोक्ष र समग्र मानव विकासको लागि गर्दछ भने त्यस्तो महात्मा नै आदर्श व्यक्ति हो । सधैं असल कुरालाई आत्मसात गरेर त्यसको सिद्धि वा प्राप्तिका निमित्त काम गरेर संसारलाई सुन्दर,सुखद बनाउने सिद्धान्तमा डुबेको गुणले युक्त विशेषता नै आदर्श हो ।
मर्यादा
मर्यादाको अर्थ जो कोहीले आफ्नो अनुकूल अर्थ लगाउलान तर रामको सन्दर्भमा मर्यादाको अर्थ लगाउने हो भने शालिनता र शिष्टाचार हो । यो व्यवहारको अति उत्तम रुप हो । यो व्यवहारमा देखिने दर्शनीय विषय हो । यसलाई सामान्य अर्थमा बुझ्ने हो भने मर्यादा भन्नाले सीमा भित्र रहनु भन्ने हो । मनुष्य एक सामाजिक प्राणी भएकोले प्रत्येक समाज,समुदायमा एक निश्चित नियम,मूल्य र मान्यताहरु हुन्छन् । समाजमा अधिक मानिसहरु हुने हुनाले सबैको एक अर्कामा सम्बन्ध हुन्छ । यस्तो सम्बन्धलाई व्यवहारिकृत गर्नको लागि केही नियम र आचारहरु हुन्छन् । यिनै नियम र आचारको पालना गर्नु नै मर्यादा हो । मर्यादाको पालना गर्नुलाई नै मर्यादित भनिन्छ । समाजद्वारा निर्दिष्ट नियम,सीमाको उल्लंघन गर्नु नै मर्यादाको उल्लघंन हो ।
मर्यादालाई एउटै क्षेत्रमा सीमित गर्न सकिंदैन । स्थान, परिवेश अनुसार मर्यादालाई वर्गीकृत गर्न सकिंन्छ । यसलाई विभिन्न आधार दिएर वर्गीकृत गर्न सकिन्छ :—
- सामाजिक मर्यादा
- कूल परिवारको मर्यादा
- नाता सम्बन्धी मर्यादा
- सांस्कृतिक मर्यादा
- धार्मिक मर्यादा
यी उल्लेखित मर्यादाका प्रकार व्यवहारतः दैनिक जीवनमा प्रायः प्रयोगमा आईरहने मर्यादा हुन् । विशिष्टिकृत ढङ्गले बुझ्ने हो भने यसका प्रकारहरुलाई अझै विस्तृतिकरण गर्न सकिन्छ । मानव सृष्टिको यस्तो अनुपम नमूना हो जसले अपेच्छाकृत मर्यादित रहन आवश्यक हुन्छ । जब कोही आफैं मर्यादामा रहने प्रयास गर्दैन भने उसले अरुको मर्यादा कसरी गर्न सक्छ र ! मर्यादा कायम राख्नको लागि व्यक्तिमा आचरण वाणी,भाषा,वचनमा नियन्त्रण राख्न आवश्यक हुन्छ ।
महाभारतको विदुर नीति
महाभारतको विदुर नीतिमा भाषाको मधुरता व्यक्तिको आभूषण हो भनिएको छ । यसै सन्दर्भमा सन्त कविरदासको भनाई प्रासाङ्गिक हुन आउँछ । उनले भनेका छन्–“वाणी यस्तो होस् जस्ले अरुलाई शितलता प्रदान गरोस् स्वयंको मनमा पनि शितलता प्राप्त होस् ।” यसरी मर्यादालाई कायम गर्ने एक अङ्ग भाषा हो । विवेकवान मानिसले कहिले पनि भाषाको मर्यादा उल्लंघन गर्दैन । मर्यादित भाषा यस्तो हो जसले सम्बन्धलाई जोड्ने काम गर्दछ ।
महान धार्मिक ग्रन्थ रामायण
धार्मिकग्रन्थ रामायणमा श्रीरामलाई मर्यादा पुरुष भनिएको छ। श्रीरामको माता,पिता प्रति मर्यादा,गुरुभक्ति,भातृप्रेम,पत्नी प्रतिको निष्ठा र आफ्नो राज्यका प्रजाजनहरु प्रति गरिएको सम्मान अनुकरणीय छ । मनुष्य जीवनका कर्तव्यहरु कसरी पुरा गर्ने त्यो श्रीरामको जीवन चरित्राट सिक्न सकिन्छ । श्रीरामका तीन भाइहरुले पनि आफ्ना सीमामा रहेर यही मर्यादा दर्शाएका थिए । नारित्वको मर्यादा के हो ? यो आदर्शनारी सीताबाट सिक्न सकिन्छ ।
श्रीरामको जीवनमा व्यतित भएका घटनाहरुको चिन्तन–मनन गर्ने हो भने आदर्श र मर्यादा अविरल झरना जस्तो देखिन्छ । उनका हरेक घटनाले एउटा मर्यादको दृष्टान्त र आदर्शको सन्देश दिएको पाईन्छ । पिताको मर्यादा(मान) राख्नको लागि श्रीराम वन गएका थिए । उनले पिताको आज्ञालाई सहर्ष स्वीकार गरेका थिए । अर्कोतर्फ षडयन्त्रपूर्वक भरतलाई दिइएको राज्य त्याग गर्न भरतले कुनै कसर बाँकी राखेनन् । अन्त्यमा दाजुको मर्यादा कायम राख्न राज्य संचालनार्थ श्रीरामको चरणपादुका सिंहासनमा राखेर चौध वर्षसम्म आफ्नो कर्तव्य निर्वाह गरे । सबै भाइ र भातृपत्नीहरुले समेत मर्यादाको पालन गरे । जव सीताको वन गमनको प्रसङ्ग आउँछ,
रामले सीतालाई वन पठाए भन्ने भावोत्तेजक रोष रामका प्रति प्रकट गरेको पनि पाईन्छ । वास्तवमा सीताको वन गमन उनको आफ्नै निर्णय थियो । राजा रामको मर्यादा कायम राख्नको लागि सीता स्वयंले वनवास गमनको यात्रा तय गरेकी थिइन् । नारी मर्यादाका सम्बन्धमा भारतीय प्रसिद्ध कथाकार राधाकृष्णका शब्दमा–“नारीको मर्यादा घुंघटभित्र र ढोकाभित्र होईन उसको स्वभावमा हुन्छ ।” यस भनाईलाई अझ विस्तारपूर्वक विश्लेषण गरी चिन्तन गर्ने हो भने यी व्यवहारगत गुणहरु सीतामा विद्यमान थिए ।
जीवनमा सन्तुलन र सामाञ्जस्य कायम राख्नको लागि मर्यादा पालन कायम राख्नु नितान्त आवश्यक छ । मर्यादित जीवनको वास्तविक अर्थ मानिसले आफ्नो हर विचार,व्यवहार र कर्मको सामाजिक,नैतिक मूल्य,मान्यता सीमाभित्र रहेर आचरणयुक्त व्यवहार देखाउनु हो । यसबाट मानिसले उच्चतम गति हासिल गर्न सक्दछ ।
यदि मर्यादा भङ्ग हुन गयो भने अनुशासन टुट्दछ । यसले समाजमा विखण्डन ल्याउँछ । कुनै पनि सत्मार्गीले आफ्नो जीवनको एक कालखण्डमा महान कर्तव्य पालना गरेर समाजमा मर्यादा कायम राख्न सक्यो भने त्यो समाज उन्नतशील समाजमा रुपान्तरण भएर जान्छ । आाजको भौतिकवादी समाजमा मर्यादा विश्रृंखलित हुँदै गई रहेको छ । यसले मर्यादापनलाई पतनोन्मुख बनाई रहेको छ ।
श्रीरामले आफ्नो जीवनमा उच्च आध्यात्मिक नैतिक मूल्यलाई कायम राखेर आफ्नो देश,समाज र युगलाई नै दृष्टान्त छोडेर गए । रामको आदर्श र मर्यादाबाट अनुप्राणित भएका कयौं मानिसहरु रामको वैकुण्ठारोहण गर्ने घडिमा अयोध्याबाट संगै गएका थिए । यसबाट स्पष्टरुपमा के बुझ्न सकिन्छ भने रामको भौतिक अस्तित्व भन्दा पनि रामको मर्यादा र आदर्शबाट ती मानिसहरु प्रभावित र अविचलित भएका थिए ।
मर्यादा पुरुषोत्तम
भगवान श्रीरामलाई अनेकौं उपमा दिएर बुझ्ने गरिन्छ । उनलाई पितृभक्त,मातृभक्त,भातृप्रेमका पर्याय,पत्नीव्रत, प्रजावत्सल,आदर्शवादी, मर्यादापालक र पुरुषोत्तम भनिन्छ । पुरुषोत्तमको अर्थ पुरुषमा उत्तम पुरुष,आदर्श भाइ, धैर्यवान, सहासी,न्यायी,पराक्रमी,उदार,हुनुका साथै मन,वचन,कर्मले कार्य गर्ने धर्म,सत्य,न्याय र निष्ठापूर्वक कार्य गर्ने व्यक्ति नै पुरुषोत्तम हो । विद्वानहरुका मत अनुसार भगवान श्रीराममा यस्ता सोह्रवटा गुणहरु विद्यमान थिए । वास्तवमा भन्ने हो भने श्रीराममा उच्च मर्यादा पालकको गुण थियो । उनले किष्किन्धा राज्यका राजा बालीको बध गरेपछि किष्किन्धा राज्य र त्यहाँका प्रजा वानरहरुप्रति पनि उति नै मर्यादा दर्शाएका थिए जति उनले अयोध्याका प्रजाहरुलाई दर्शाउने गरेका थिए । लङ्काको विजय पश्चात पनि रामले लङ्कावासीप्रति सोही आदर्श र मर्यादा दर्शाएका थिए । हिन्दु धर्मग्रन्थ वाल्मीकि रामायणको श्लोकमा यस्तो आदर्श वाक्य पाईन्छ जहाँ भारद्वाज ऋषिले रामलाई सम्बोधन गर्दै आज्ञा गरेका थिए–
“मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव
जननी जन्म भूमिश्च स्वर्गादपि गरी यसी ।”
मित्र, धन धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि महान छन् । यसै सन्दर्भमा एउटा काल,परिवेश र परिस्थितिको सिर्जना हुन्छ जव रामले रावण उपर सर गरेपछि लङ्काको स्वामित्व स्वतः राममा आईसकेको थियो । यसै परिवेशलाई बुझेर लक्ष्मणले रामलाई लङ्कामा नै बस्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा रामले लक्ष्मणलाई भनेका थिए–
“अपि स्वर्णयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।”
लक्ष्मण यो लङ्का सुनले बनेको भए पनि यसमा मलाई कुनै रुचि छैन किनकी जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् । यो प्रसिद्ध आदर्श वाक्यले राष्ट्रप्रतिको माया र मर्यादा झल्काएको छ । यो आदर्श वाक्य हाम्रो देश नेपालको राष्ट्रिय आदर्श वाक्य पनि हो ।
श्रीराम
हिन्दु धर्मावालम्वीहरुको प्रमुख पर्वहरुमा राम नवमी पनि एक महत्वपूर्ण पर्व हो । हिन्दु धर्मग्रन्थ अनुसार चैत्र महिनाको शुक्लपक्षको नवमी तिथिमा भगवान श्रीरामको जन्म भएको मानिन्छ । त्यसैले यस दिनलाई श्रीराम जन्मोत्सव वा राम नवमी भनिएको हो ।
राम शब्द रवि शब्दको समानार्थक हो । यसको अर्थ स्वयं प्रकाश हुनु वा आफु भित्रको ज्योति जगाउनु भन्ने बुझिन्छ । यही कारणले मनुष्य जन्मदेखि अन्तसम्म राम नाम पुकारी रहेको हुन्छ । यद्यपि आत्मप्रकाश नै राम नाम हो ।
भगवान राम भगवान विष्णुको अवतारहरु मध्ये एक हुन् । पौरमणिक कथा अनुसार धरतीमा फैलिएको अन्याय, अत्याचार र असुरहरुको विनाशको लागि भगवान विष्णुले सातौं अवतार लिंदा रामको रुपमा जन्म लिएका थिए । वास्तवमा भन्ने हो भने धर्म,सत्य,न्याय र निष्ठाको लागि रामले जन्म लिएका थिए ।
रामनवमीको महत्व
धार्मिकग्रन्थ अनुसार कलियुगमा भगवान रामको स्मरण मात्रले पनि मनुष्यका साह्रा विघ्न बाधाहरु हटेर जान्छन् भने प्राणान्त हुने घडिमा राम नाम उच्चारण गरे पनि मोक्ष मिल्दछ भन्ने शास्त्रीय मत पाईन्छ । मर्यादा पुरुषोत्तमको उपमा पाएका रामको महिमा र गाथा अपरम्पार छ । मर्यादा पुरुषोत्तम भन्नाले कठिन समयमा पनि धर्मको साथ नछोड्नु र नीतिको सीमा उल्लंघन नगर्नु हो । श्रीराम स्वयंले भनेका छन्–“जस्तो सुकै कठिन परिस्थितिमा पनि हार मानेर अनुपयुक्त कार्य नगर्नु ।”
रामनवमीले आदर्श,मर्यादा,सदाचार सद्व्यवहार र सद्गुण प्रदर्शन गर्नुलाई इंगित गर्दछ ।
राम नामको अन्तरनिहित रहस्यले मानव भित्र विद्यमान रहेको ज्योतिलाई स्वयं प्रकाशित गर्नु वा प्रज्वलित गरी सद्गुण,सद्व्यवहार,आदर्श,मर्यादा,सदाचार लगायत सोह्रवटा गुणहरुलाई प्रज्वलित गरेर मानव जगतमा आदर्श कायम गरी परमार्थमा मोक्ष प्राप्त गर्नु हो । यसका लागि श्रीराम नामको भजन कीर्तन गरी सोही मार्गलाई अपनाउनु हो भन्ने बुझिन्छ ।
ॐ नमोभगवते रामचन्द्राय ।
हिन्दुशास्त्रको काल गणनानुसार वर्तमान समयमा कलियुग चलिरहेको छ ।
यसयुगमा अन्याय,अत्याचार,दुराचार,पापाचार, फैलिरहेको छ । यस प्रवृतिले संसारलाई आक्रान्त पारिरहेको छ । पाप र प्रवृत्तिगत अभिशापले ग्रसित यस घडिमा श्रीराम नाम उच्चारण समेतले मात्र पनि फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मत रहेको छ ।
रामराज्य
पगरी गुथेर जिम्मेवारी वहन गरेकाहरु रामराज्य बनाउँछु भनेर उड्केको सुन्न पाईन्छ । वास्तवमा रामराज्य भनेको के हो ? रामराज्य कस्तो थियो ? यो सबैको जिज्ञासाको विषय हो । राजनीतिकर्मीहरु रामराज्य बनाउँछु भनेर भाषण गर्दछन् तर कस्तोलाई रामराज्य भन्ने यस सम्बन्धमा महर्षी वाल्मीकिले भनेका छन्–“अयोध्याका राजा रामले चलाएको राज्य नै रामराज्य हो जहाँ धर्म,मर्यादा र नीतिमा राज्य चलेको थियो ।” कुनै पनि देशको खुसी या विस्मातमा राजा वा राज्य जिम्मेवार हुनु पर्दछ । त्यसैले जस्तो राजा त्यस्तै प्रजा भन्ने युक्ति चलेको पाईन्छ ।
रामराज्य एक पुरकतामा आधारित राज्य हो । यसमा सबै प्राणीहरु एक अर्काका पोषक हुन्छन् । यहाँ कोही भक्षक हुँदैन । सबै एक अर्काका रक्षक हुन्छन् । कोही कसैका विरुद्ध ह्रिसंक हुँदैन । सबै एक अर्काका शुभचिन्तक हुन्छन् । भनिन्छ बाघ र बाख्रीले एउटै पोखरीको पानी खाने वातावरण र परिस्थिति नै रामराज्य हो । यस्तो व्यवहार,नैतिकता र जिम्मेवारीबाट राजा,प्रजा,शासक र शासित सबैको कल्याण हुन्छ । यहाँ नै रामराज्यको ज्वलन्त नमूना झल्किन्छ ।
धर्म,राजनीति र रामराज्य
राजनीति र धर्म एक आपसमा जोडिएको हुन्छ,हुँदैन भन्ने सम्बन्धमा वहस चलेको सुनिन्छ । यस सम्बन्धमा आ–आफ्नो डम्फु पिटेको सुनिन्छ । राजनीति र धर्म एक आपसमा मिसिनु हुँदैन भन्ने मान्यता प्रबल हुँदै आएको छ । यो मान्यताको विकास कसले गरे ? यस विषयमा लामो खोज गर्नु पर्दैन होला । जसले यो मान्यताको विकास गरे तिनीहरु नै बाईवल,कुरान र गीता समाएर देश र जनताको नाममा शपथ खान्छन् । विश्वका यी सम्भ्रान्त ठानिएका मुलुकहरु अन्यलाई धर्म निरपेक्षताको खास्टो ओढाएर आफु धर्मग्रन्थलाई अँगालो हालेर निरपेक्षताका आलापहरु सुनाई रहेका हुन्छन् । यो धर्म सापेक्षता हो कि निरपेक्षता ? राजनीतिले सम्पूर्णतःसैद्धान्तिकरुपमा शिकार भोगेपछि धर्मलाई अँगालो हालेर राजनीतिक पथ निर्माण गरेको इतिहास खोज्न टाढा जानु पर्दैन । राजनीतिमा धर्म यो अर्थमा जोडिनु पर्दछ जहाँ मानवधर्म जोडिनु पर्छ । मानवताकै लागि भनेर मानव नै रेटेर आजको विश्व अघि बढिरहेको छ । हिजो धर्मको आडमा राजनीति चलेको थियो । धर्म वेगरको राज्य,राजनीति र जनजीवन थिएन तर आज धर्मको वास्तविकतालाई भौतिकवादको पासोमा अल्झाएर आध्यात्मिक पक्षमा तिब्र प्रहार भईरहेको छ । धर्म विनाको राज्य र संस्कृति विनाको समाजले एकाकिपनको सिर्जना गरी नैराश्यताका काला बादलहरुको च्यादर ओढाउँछ । यसै अवसरको फाईदा उठाउँदै छद्मरुपधारीहरुले मानव र मानवीय धर्मप्रति अंकुश लगाउने प्रयास गरिरहेको आभाष पाईन्छ ।
रामराज्यमा धर्म पूर्णतामा घुलेको थियो । नीति,नियम,मर्यादा,आदर्श र नैतिकता सबै पक्षलाई धर्मको अंशको रुपमा लिईन्थ्यो । भौतिकवादको उन्नतिले वर्तमान परिप्रेक्ष्यमा नैतिकता,आदर्श,नीति र नियमलाई त्यागेर भौतिकवादको पासोमा अल्झिनु पर्ने हो र ? समाज,संस्कृति र आम जनजीवनमा दिनुपर्ने सकारात्मक पक्षहरुलाई तिलाञ्जली दिएर रामराज्यको निर्माण गर्छु भनेर लाग्दा नैतिक आदर्श,मातृभूमि र हाम्रो मौलिक पक्ष विनाश भएर गए भने यो भन्दा अभिशाप केही हुँदैन । आज यस पावन दिनमा मुलुक,आमनागरिक,हाम्रा मौलिक परम्परा र संस्कृति कायम राख्दै अगाडि बढ्ने अभिप्रेरणा भगवान श्रीरामले सबैलाई प्रदान गरुन ।