काठमाडौं– विधाताको सृष्टि अपुरो र अधुरो छैन । हरेक वस्तुको उत्पत्तिको आ–आफ्नै उपादेयता रहेको हुन्छ । एउटा फूल अंकुराउँछ, फुल्छ र सुगन्ध छरेर अन्त्यमा विलिन हुन्छ । यो सृष्टिको प्राकृतिक नियम हो । हामी यसलाई प्रकृतिको नियम भनौ या विधाताको खेल, तात्विक भिन्नता खासै देखिदैन । मैले यहां उठान गर्न खोजेको विषय यस्तै विषय र परिवेशसंग मिल्दछ कि जस्तो लाग्दछ । नेपाल ज्ञानभूमि, तपोभूमि, तेत्तिसकोटी देवताहरुको वासस्थान हो । पुराण तथा उपनिषदका पानाहरु पल्टाउँदा कयौं ऋषिमुनि तथा तपस्वीहरुले ज्ञानार्जन गरेर परमगति प्राप्त गरेको आख्यान पाइन्छ ।
विषय र प्रसङगले म एउटा सात्विक नारी पात्रको जीवन संघर्ष र त्याग एवं वलिदानको विशेष चर्चा गर्न गईरहेको छु । नेपालको भोजपुर जिल्ला जुन धार्मिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले अग्रणी मानिन्छ । बालागुरु षडानन्दजस्ता तपस्वी ज्ञानी सात्विक व्यक्तिको सालनाल गाडिएको पावन भूमिमा बि.स. १९२४ मा जाज्वल्यमान नक्षत्रको रुपमा योगमाया न्यौपानेको जन्म भएको थियो । पिता श्रीलाल न्यौपाने (उपाध्याय) र माता चन्द्रकला न्यौपानेको ज्येष्ठ सुपुत्रीको रुपमा योगमाया धरतीमा पाइलो टेक्न आएकी थिइन् । उनी भोजपुर जिल्लाको साविक नेपालेडाँडा गा.वि.स. को मझुवा बेसीको एक कट्टर ब्राह्मण परिवारमा जन्मेकी थिइन् । परम्परागत शास्त्रीय मूल्यमान्यताले त्यस परिवारमा प्रवलताका साथ जरा गाडेको थियो । यसैको फलस्वरुप सात बर्षको बालिका उमेरमा उनका परिवारले मनोरथ कोइरालासंग वैदिक विधि विधान अनुसार विवाह गरिदिए । तत्कालीन समयमा घरमा सासुहरु बुहारी माथि शासन गर्दथे । यो खप्न नसकेर योगमाया माइतीघर आइन् । केही समय उनी माइतमा त बसिन तर परिवार र समाजको दबाबले बिहे गरेकी छोरीले माइतमा बस्नु हुँदैन भने पछि बुहार्तन खप्न उनी आफ्नै पतिको घरमा फर्किन् । दिनको संकेत विहानीले गर्छ भने झैं दस वर्षको उमेरमा उनका पति मनोरथ कोइरालाको देहान्त भयो । एउटी अबला नारीको सर्वस्व ठानिएको पतिको मृत्युले उनको जीवनमा ठूलो बज्रपात पर्याे र तत्कालीन समाजको शब्द सापटी लिने हो भने उनी बाल विधुवा बन्न पुगिन् । उनलाई परिवार र समाजले लोग्ने टोकुवाको संज्ञा दिन थाले । अपवाद भन्नु या विचारोत्तेजक अनुमानमा केही आधुनिक आख्यानकारहरुले योगमायाले त्याग गरेपछि उनका पति मनोरथ कोइरालाले अर्को विवाह गरेका थिए पनि भनेका छन् । जस माथि अनुसन्धानको झटारो हान्नु पर्ने देखिन्छ ।
किशोरी अवस्थामा पुगेपछि एक छिमेकी ब्राह्मण केटासंग दोस्रो विवाह गर्न पुगिन् जुन प्रेम विवाह थियो । उनको विवाह गरेको केटाको नाम यकिन नभए पनि थर कडेल थियो । यस घट्नालाई सिंहावलोकन गर्ने हो भने योगमायाले तत्कालीन समाजको गालामा जमाएर एक थप्पड हानेकी थिइन् किनभने त्यस बखतमा विधवाले विवाह गर्नु भनेको समाजको दृष्टिमा बर्खिलाप थियो । उनी दोस्रो विवाह पछि भोजपुर छोडेर आसामतिर गइन् । एक सुपुत्रीलाई जन्म दिइन् । भाग्यको खेल जानिसक्नु छैन । विधाताले कोरेको भाग्यरेखाको बाटोमा हिड्नु मानवको बाध्यता हो जुन मानवले नचाहेर पनि स्विकार्नुपर्छ । केही आख्यानकारहरुको फरक मत पनि पाइन्छ । उनले छोरी र दोस्रो पतिलाई त्यागेर तेस्रो पतिसंग विवाह गरिन् भन्ने छ भने अर्को थरी आख्यानकारहरु उनको दोस्रो पतिको देहान्त भएपछि मात्र तेस्रो विवाह डोटेल थरको युवकसंग गरेकीे थिइन् । केही इतिहासकारहरु उनले दुई पुत्रीलाई जन्म दिएकीे थिइन् भन्नेमा विवाद गरिरहेको पाइन्छ । तर अभिलेखमा उनकी एक छोरी नैनकला नाम मात्र पाइन्छ ।
जीवनका अनेक मोड र घुम्तीहरु योगमायाको जीवनमा आए । भाग्यको लहरमा लाई लहरिदै योगमाया छोरी नैनकलाई लिएर आफ्नो सालनाल गाडिएको माटो भोजपुरको मझुवाबेसीमा आइपुगिन् । योगमाया वास्तावमा विधाताले खटाएको एक चरित्र पात्र जस्तो थिइन् । मझुवाबेसीमा उनले आफ्नी पुत्री नैनकलालाई भाइ अग्निधर न्यौपाने र बुहारी गंगाको पोल्टोमा हालिदिइन् । योगमायाले जीवनका आरोह अवरोहमा विभिन्न धार्मिक कविताहरुको रचना गरेकी थिइन् जुन पुस्तकको रुपमा संग्रह भएको थियो भन्ने भनाई छ ।
नेपालबाट आसामतर्फको पलायन योगमायाको जीवनमा कोशेढुङ्गा सावित भयो । आसाम बसाईको क्रममा योगमाया हिन्दु सुधारवादी नेता दयानन्द सरस्वतीका विचार र सिद्धान्तबाट गहिरो रुपमा प्रभावित भएकी थिइन् । वि.सं.१९७४ बाट योगमायाले नेपालका विभिन्न भागहरुको धार्मिक यात्राको प्रारम्भ गरिन् । यात्राका समयमा उनले विभिन्न विख्यात् धार्मिक व्यक्तित्वहरुको प्रवचन र ज्ञान पाइन् साथै धार्मिक विषयमा चर्चा पनि गरिन् यसबाट उनी धर्मगुरुको विषयको पात्र पनि बन्न पुगिन् । यसै क्रममा योगमायाले स्वर्गद्वारी महाप्रभु अभयानन्द दोस्रोसँग जोसमनी सन्तपरम्पराअनुसार आत्मिक योग शिक्षा लिइन् । यसपछि योगमायाले आफ्नै गृहग्राममा विभिन्न किसिमका योग साधना र ध्यान गरिन् ।
योगमायाले आर्जन गरेको ज्ञान अथाह थियो । उनको ध्यान साधनाको गहिराइको मापन गर्न कठिन थियो । उनी जटिल भन्दा जटिल ठानिएको ध्यान साधना सहज रुपमा गर्न सक्थिन् । उनी गर्मीमा बाक्लो लुगा लगाएर अग्नी ताप्ने गर्दथिन् भने जाडोमा चिसो गुफामा ध्यान गर्थिन् । कयौ दिनसम्म पानी मात्र पिएर साधना गर्दथिन् । क्रमिक रुपमा योगमायाको ज्ञान र योगसाधनाको चर्चा भोजपुरभर हुन थाल्यो । उनको आध्यात्मिक कविताबाट प्रभावित भएर भोजपुर(मझुवाबेसी) का भीम बहादुर बस्नेतले एक कुटी (आश्रम) बनाई दिएर त्यहाँबाट प्रवचन गराउन थाले । ती धार्मिक कविताहरुलाई पछि सिक्किमबाट प्रकाशन गरिएको थियो ।
योगमायाको यस प्रकारको सुधारवादी गतिविधिलाई कट्टर मानिएको तत्कालीन समाजले पचाउन सकेन । कठोर परम्परावादी र भेदभावले ग्रसित समाजमा योगमायाको कदम एक प्रकारको जेहाद नै थियो । पितृसत्तात्मक समाजमा महिला माथिको भेदभाव असह्य थियो भने उतल्ला जात भनिएका दलित र आर्थिक पिछडावर्गको अवस्था नारकीय थियो । उनका सुधारवादी आध्यात्मिक कविताहरुले भोजपुर दार्जिलिङ, सिक्किम र काठमाडौंमा प्रभाव फैलाई रहेको थियो । अर्कोतर्फ भोजपुरका तत्कालीन सामन्तहरुको सातो उडाई रहेको थियो । पितृसत्तात्मक धारणाले महिला र समाजमाथि बन्चरो हान्दै आएका सामन्तहरुले केन्द्रीय प्रशासन र बडाहाकिमलाई योगमाया र उनका अनुयायीहरुले सञ्चालन गरेको अभियान रोकिनुपर्दछ भन्ने माग गर्नथाले जसले नेपालको तत्कालीन जहानिया राणा शासकको खुट्टा कमाएको थियो । योगमायाको सुधारको अभियानको आयाम भोजपुरमा मात्र सिमित थिएन । उनले आफ्नो अभियान देशव्यापी बनाइन् । राणा शासकको भ्रष्ट व्यवहार र भेदभावपूर्ण नीतिको अन्त्य गरिनुपर्छ भनेर वि.सं. १९८८ तिर प्रेमनारायण भण्डारीलाई आफ्नो दूत बनाएर केन्द्रीय सत्तालाई जानकारी दिन काठमाडौं पठाइन् । प्रेमनारायण भण्डारीलाई तत्कालीन प्रधानमन्त्री जुद्ध समशेर जबराले स्वागत गरी योगमायाको माग प्रस्तुत गर्न लगाएका थिए तर यस कदमलाई जुद्ध समशेरले महत्व दिएनन् । वि.सं. १९९३ मा भण्डारी पुनः काठमाडौं पठाइए राणाहरुको भ्रष्ट गतिविधिमा कुनै परिवर्तन आएन । यसपछि वि.सं. १९९३ मा योगमायाले आफ्नी छोरी नैनकलाका साथ काठमाडौंको केन्द्रीय सत्तासंग वार्ता गर्न काठमाडौ आइन् । जुद्ध समशेरले उनलाई स्वागत गरी आफ्नो माग प्रस्तुत गर्न भने । योगमायाले सो बखतमा भनेकी थिइन "सत्य धर्मको भिक्षा ।" (The aims of the holy order of truth and justice)
जुद्ध समशेरले उनको मागलाई पुरागर्ने आस्वासन दिएका थिए । यसै बिच योगमायाले २४ बुँदे अपिल पत्र बुझाई यी कार्य नभएमा स्थापित सत्ता हल्लाउने चेतावनी दिएर अर्को वर्ष विशेष धक्काको कार्यक्रम ल्याउने चेतावनी सहित भोजपुर फर्केकी थिइन् । राणा शासकहरु भारतको राष्ट्रिय स्वतन्त्रता आन्दोलनबाट झस्किरहेका थिए भने प्रचण्ड गोरखा काण्डले सातो नै उडाएको थियो । यसै कारण पनि जुद्ध समशेरले योगमायाका मागहरुलाई हावामा उडाउँदै गएका थिए । योगमायाले पुनः असभ्य भ्रष्ट शासन चलाईरहेका राणाशासकहरुलाई सुधारको बाटोमा आउन आग्रह गरिन् । अन्धविश्वास र परम्परावादी जड अभ्यासको अन्त्य छिटो होस भन्ने माग मात्र दोहोर्याइन । उनी सबै प्रकारका कुपरम्परा, कुसंकार र कुरीतिको समाप्ती गरी नयाँ युगको घोषणा गर्न कम्मर कसेर लागेकी थिइन् । जुद्ध समशेरले उनका मागहरु पूरा नगरेपछि उनी र उनका दुई सय चालीस जना अनुयायीहरुले अग्नी, समाधी लिने निर्णय गरे । यसका लागि कार्तिक शुक्ल पूर्णिमाको दिन अग्नी समाधी लिने निर्णय गरी धनकुटाका वडाहाकिम माधव समशेर जबरा मार्फत जुद्वसमशेर कहाँ अपिल पुर्याइयो । बि.सं. १९९५ को कार्तिक २६ का दिन अग्नी समाधिको तय भयो । जुद्ध समशेरले वि.स. १९९५ कार्तिक २५ गते नै धनकुटाबाट पाँच सयभन्दा बढी फौज परिचालन गरी धनकुटाका एघार जना पुरुष अनुयायीहरुलाई धनकुटा कारगारमा जाकियो भने योगमाया र उनकीे छोरी नैनकलालाई गिरफ्तार गरी भोजपुरको राधाकृष्णको मन्दिरमा बन्दी बनाएर राखियो । केही समयपछि योगमाया र नैनकलालाई बन्दी अवस्थाबाट मुक्त गरियो भने अन्यलाई तीन महिनापछि छोडियो र केहीलाई बि.सं.१९९८ चैत्रमामात्र छोडिएको थियो ।
अग्नि आहुतीको अभियानमा शासकीय हस्तक्षेप बर्बरतामा उत्रिएको थियो । कयौंलाई पक्राउ र यातना दिइयो । केही समयको कारावासपछि मुक्त भएका योगमायाका अनुयायीहरु पुनः एकजुट हुन थाले । अग्नि समाधिको असफलतापछि उनीहरुले अर्को कठोर निर्णय लिने अठोट गरी गोप्य बैठक बसे । यसम उनीहरूले जल समाधि लिने निर्णय गरे । यसका लागि अरुण नदीमा समाधि लिने तय भयो । बि.स. १९९८ साल असार २० गते हरिशयनी एकादशीको दिन सबै अनुयायी सहित जलसमाधिमा जाने निर्णय भयो । यो जलसमाधिमा सहभागी हुन योगमाया र उनका छनोटका अनुयायीहरु मात्र थिए । यो कठोर आम जलसमाधिको यात्रामा वि.सं. १९९८ साल असार १९ गते राती जाने र बिहानपख समाधिमा जाने कुरा तय भएको थियो । समाधिको पूर्व सन्ध्यामा योगमाया उनकी छोरी नैनकला एवं अरु चौसठ्ठी जनाले टाउकोमा दियो बत्ती बालेर पहाडको टुप्पोमा पुगी असार २० गते बिहान सबेरै पहाडको अग्लो स्थानबाट अरुण नदीमा फरालेर जलसमाधि लिए । भोलिपल्ट बिहान योगमायाका अरु २ जना अनुयायीहरुले पनि जल समाधि लिएका थिए । यस आम जलसमाधि अभियानमा अठ्सठ्ठी जना महिलाहरुले आत्माहुती दिएका थिए ।
सरसर्ती हेर्दा एउटा आख्यान जस्तो लाग्ने अजम्वरी घट्ना कयौंलाई कथाको आभाष देला भने कयौलाई युगान्तकारी नारीको वेदना । एउटा युगान्तकारी युगप्रवर्तक ओजस्वी प्रथम क्रान्तिकारी नारीयोद्धा, हक, अधिकार र न्यायका लागि लड्ने नारी अभियन्ताकोे रुपमा योगमायालाई लिइन्छ । “एक युगमा एक दिन एक चोटी आउँछ” भने जस्तै वि.सं. १९९८ साल असार २० गतेको दिन क्रान्तिकारी नारीहरुले छोडेको विद्रोहको उभार थियो । मानिसको जन्म निरर्थक छैन । जसले जीवन र जगतलाई एउटै तराजुमा जोख्ने प्रयास गरे निश्चित रुपमा त्यसबाट परिवर्तनको झिल्को उछिट्टिएको हुन्छ । योगमाया त्यहि झिल्को थिइन् जसले जगतलाई उज्यालो दिएर गइन् । यसै उज्यालोमा आलोकित भएकाहरुले परिवर्तनका ज्वारभाटा चलाउन सकेका छन कि छैनन् ? योगमायाबाट प्रेरणा लिएर नारी बन्धनका साङ्गलाहरु चुडाल्ने साहस गर्न सक्नेहरुको खोजी गर्नु पर्ने हो कि बाटो बिराइ रहेका छन् ? यो खोजीको विषय भएको छ । योगमाया एक चानचुने नारी पात्र होइनन् । उनी नेपालको इतिहासमा स्वर्ण अक्षरले आफ्नो नाम लेखाउन जन्माइएको सार्थकता प्रमाणित गर्ने नारी पात्र हुन् । आज उनका सम्वन्धमा विभिन्न नाटक, कविता तथा आख्यान लेखिएका छन् । उनका सम्बन्धमा बार्बरा निम्री अजिज र माइकल हटले अनुसन्धान समेत गरेका छन् । योगमाया आज विश्वविद्यालयका समाजशास्त्र, मानवशास्त्र, महिला अध्ययन जस्ता विषयमा अध्ययन गरिने पात्र हो । योगमायाको योगदानको कदर गर्दै नेपाल सकारले वि.सं. २०७३ सालमा हुलाक टिकट प्रकाशन गरेको छ । यति मात्रले योगमायाको योगदानको सम्मान पुग्दछ जस्तो लाग्दैन उनको सम्मान आधुनिक युगकी युग प्रवर्तक क्रान्तिकारी ओजस्वी नारी अभियन्ताको रुपमा राष्ट्रिय विभूति घोषणा गरिनुपर्दछ । यसबाट उनी मात्र नभई नेपालका सबै महिलाहरुको सम्मान हुने कुरामा विश्वास गर्न सकिन्छ ।