धनगढी / नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएपछि मुख्यमन्त्री शाहले दुईतिहाइ मत पाउने भएका हुन ।
माओवादीको सुदूरपश्चिम संसदीय दलले शनिवार (हिजो) पत्र लेखेर विश्वासको मत दिने/नदिनेबारे पार्टीको हाइकमाण्डको प्रतिक्रिया मागेका थिए। त्यसपछि माओवादीका अध्यक्ष दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन्।
माघ महिनाको २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुसार आज शाहले विश्वासको मत लिँदै छन्।
केन्द्रमा नयाँ समीकरण (राष्ट्रपति चुनावको सम्मुखमा बनेको आठ दलीय गठबन्धन) बनेसँगै विश्वासको मत पाउन ढुक्क बनेका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट दुईतिहाइ मत पाउने देखिएको छ।
गठबन्धनका दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने भएका छन्।
सुदूरपश्चिम दलका नेता खगराज भट्टले ‘विश्वासको मत दिन निर्देशन आएको बताउँदै भागबन्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए।
प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठक बस्ने तयारीमा छ। उक्त बैठकले सोही निर्णय सदर गर्ने बुझिएको छ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ। सो पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने जानकारी दिए।
माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन्। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्दछ।
कांग्रेसका १९, माओवादीका ११ (सभामुख), नागरिक उन्मुक्तिका ७ र एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन्। प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १/१ सांसद छन्। आठ दलीय गठबन्धनमा सहभागी दलसहित एक स्वतन्त्र प्रदेश सभा सदस्यले मत दिँदा मुख्यमन्त्री शाहले ४१ मत पाउनेछन्। जो प्रदेश सभाको दुईतिहाइ मत हो।
२०७४ निर्वाचनको कार्यकालमा पाँच वर्षसम्म स्थायी तवरले चलेको सुदूरपश्चिम सरकार यसपटक भने सबैभन्दा पहिले फेरिएको हो।