धनगढी— केही समयअघि इन्जिनियर भीम पुन व्यक्तिगत कामले मालपोत कार्यालय धनगढी पुगे । गेटमा पुग्ने बित्तिकै छेउमा राखिएको एउटा खुल्ला भवन र त्यसको खचाखच भीडले उनको ध्यान तान्यो ।
भवनमा टन्नै टेबुल कुर्सीहरु राखिएका थिए । हरेक टेबलमा सेवाग्राही हुन्थे । एकजना लेखापढी सम्बन्धि काम गर्ने मान्छेले लेखेको लेखै गर्थे । त्यसबापत अन्त्यमा केही पैसा लिन्थे । सेवाग्राहीहरु सरकारी कार्यालयका मुचुल्का, तमसुक, सिफारिस, निवेदन आदिका काम त्यहाँ पैसा तिरेर गरिरहेका थिए । त्यसका लागि लाइन बसिरहेका सेवाग्राहीको समय पनि बर्बाद भइरहेको थियो ।
खासमा ती सरकारी कार्यालयमा निःशुल्क प्राप्त हुने निवेदनका ढाँचाहरू हुन् । तर, सोझा साझा सेवाग्राहीलाई त्यही निवेदन भरिदिएको भन्दै विचौलियाहरुले पैसा असुलिरहेका थिए । इन्जिनियर पुनको मस्तिष्कमा त्यही बेला एउटा आइडिया फुर्यो, यस्तो एउटा एप होस्, जसले आफ्नो तथ्य भरेकै आधारमा लेखापढीबाट गरिने सम्पूर्ण निवेदन, मुचुल्का, सिफारिस, तमसुक एकैछिनमा तयार गरिदेओस् ।
यस विषयमा पुनले एसपीएकै अध्यापक तथा आइटी अफिसर रविन्द्र रानासँग पनि सल्लाह गरे र आइडिया जन्माए– ‘वान डोर लेखापढी सिस्टम’ विकास गर्ने । तर व्यस्तताका कारण पुनले उक्त प्रोजेक्ट अघि बढाउन पाएनन् र उनले आफ्नो आइडिया विद्यार्थीहरुसँग साटे । सरको आइडिया सुनेपछि एसपीएमै बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत् अरुणिमा कठरिया तथा पहिलो सेमिस्टरमा अध्ययनरत् दीपिका जोशी र पुजा साहले उक्त प्रोजेक्ट अघि बढाउने भए ।
त्यहीबीच आइटी क्षेत्रमा महिलाहरुको उपस्थिति बढाउने र उत्प्रेरित पार्ने उद्देश्यसहित खुलेको सिक्वेल फाउन्डेसनले काठमाडौंमा देशकै सबैभन्दा ठूलो महिला ह्याकाथनको आयोजना गर्ने घोषणा गर्यो । ह्याकाथन एउटा त्यस्तो कार्यक्रम हो, जहाँ आइटी क्षेत्रका नयाँ आइडियाहरु, अविष्कारहरुको प्रदर्शनी गर्ने गरिन्छ ।
उक्त ह्याकाथनमा देशभरिबाटै आइटी क्षेत्रमा रुचि भएका सम्पूर्णलाई आफ्नो प्रोजेक्टसहित आवेदन आह्वान गरिएको थियो । जसमा एसपीए कलेजले पनि अरुणिमा, दीपिका र पूजाको प्रोजेक्टका रुपमा ‘वान डोर लेखापढी सिस्टम’ को बारेमा विस्तृतमा विवरणसहित आवेदन दर्ता गर्यो ।
ह्याकाथनका लागि देशभरबाट ८० भन्दा बढी आवेदन परेका थिए । जसमध्ये उत्कृष्ट उत्कृष्ट १६ भित्र पर्दै एसपीएको ‘वान डोर लेखापढी सिस्टम’ प्रदर्शनी हुने भएको छ ।
‘देशभरबाट आएका आवेदनहरुमध्येबाट अब्बल ठहरिँदै हाम्रो प्रोजेक्ट उत्कृष्ट १६ मा पर्नु नै हाम्रा लागि ठूलो उपलब्धि हो,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक पुनले भने, ‘दैनिक जीवनलाई सहज बनाउँने सरल एप भएकाले निर्णायकहरुले रुचाउनुभएको छ । अब प्रदर्शनीमा आउने सयौं माझ हाम्रो प्रोजेक्ट प्रस्तुत गर्नेछौं ।’
उत्कृष्ट १६ भित्र परिसकेपछि अब काठमाडौंमा बिहीबारबाट सुरु हुने ह्याकाथनमा एसपीएका विद्यार्थीहरुले प्रोजेक्ट प्रदर्शनीमा राख्नेछन् । जुनक्रममा ह्याकाथनमा उपस्थित हुने विशिष्ट व्यक्तित्वहरु, आइटी क्षेत्रका विज्ञहरु र अवलोकनकर्ताले ‘वान डोर लेखापढी सिस्टम’बारे जानकारी लिनेछन् ।
‘हामी आइटी क्षेत्र नै अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि यो ठूलो उपलब्धि हो,’ अरुणिमाले भनिन्, ‘हामीले लामो समय यस प्रोजेक्टमा काम गरेका छौं । प्रदर्शनीबाट प्राप्त अनुभवले यसलाई व्यवसायिक रुप दिन मद्दत पुग्नेछ ।’
उनका अनुसार ‘वान डोर लेखापढी सिस्टम’को मद्दतले सबै सरकारी कार्यालयका निवेदन, मुचुल्का, तमसुक अटोमेटिक जेनेरेट हुन्छ । प्रयोगकर्ताले आफ्नो आवश्यक विवरण पेश गर्ने बित्तिकै एपले एकैछिनमा ती निवेदनहरु तयार पारिदिन्छ । यसले गर्दा बिचौलियालाई पैसा तिर्नुपर्ने तथा लाइन लाग्नुपर्ने समस्याको समाधान हुने विश्वास उनले गरिन् ।