धनगढी— कञ्चनपुरको बेलौरीमा भिनाजु र १४ वर्षीया नाबालिकाको अवैध सम्बन्धबाट बच्चा जन्माएको घटना बाहिरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी बालिकाले घरमै शिशुलाई जन्म दिएकी घटना बाहिरिएको हो ।
कलकत्ताको जनज्योति माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने यी बालिका केही समय अघि भिनाजु नाता पर्ने गुप्तासँग भागेर भारततर्फ गएकी थिइन् । ईलाका प्रहरी कार्यालय बेलौरीले उनीहरुलाई भारततर्फ जाँदै गर्दा नाकामा रोकेको थियो। त्यस बेला बालिकाको उमेर १३ वर्ष मात्रै रहेकाले प्रहरीले भारततर्फ जानबाट रोकेर परिवारको जिम्मा लगाएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
गुप्ताका दाइले किशोरीका काकाकी छोरीसँग बिहे गरेका थिए। त्यसले गर्दा उनी दाइको माइती घर कलकत्ता ओहोरदोहोर गरिरहन्थे। त्यसक्रममा बालिका र गुप्ताबीच हेलमेल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
बालिकाको बयानपछि ईलाका प्रहरी कार्यालय बेलौरीमा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी समेत परेको छ। भारतको बरेलीका दयाराम गुप्ता विरुद्ध पीडित परिवारले प्रहरीमा जाहेरी दिएका हुन्।
बालिकाको गर्भ सात महिना पुग्नु अगाडिसम्म परिवारलाई त्यस बारेमा केही सुइँको थिएन। बालिकाले अवैध गर्भ घरपरिवारलाई थाह नदिई लुकाएकी थिईन् । गर्भ सात महिना पुगेपछि मात्रै परिवारले त्यस बारे थाहा पाए। गाउँमा बेइज्जत हुने डरले परिवारले भने घटना बाहिर जनाएनन्। उनीहरुले बाहिर लाज हुने भन्दै त्यसबाट जोगिन बुहारीको बच्चा देखाउने योजना बनाए।
बालिकाको जेठो दाइको केही समय अगाडि मात्रै बिहे भएको थियो। माघ ३ गते घरमै बालिकाले बच्चालाई जन्म दिइन्। परिवारले गाउँमा भने बुहारीको बच्चा भनेर छोरीको अवैध सम्बन्धलाई जोगाउने प्रयास गरेको प्रहरीले जनाएको छ। ‘बुहारीको शारीरिक अवस्था सामान्य जस्तै भएकाले स्थानीयले शंका गरे,’ भण्डारीले भने, ‘परिवारले भने गाउँमा बुहारीकै बच्चा भनेर भनेका रहेछन्।’
शंकास्पद लागेपछि स्थानीयले ८ माघमा प्रहरीलाई खबर गरेसँगै घटना बाहिरिएको हो। त्यसपछि प्रहरीले बालिका, उनका बच्चा र आमा बुवालाई ईलाका प्रहरी कार्यालय बैलौरीमा ल्याए। प्रहरीले किशोरीसँग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छन्।
‘बालिकाले हामीसंगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेर भनेकी छन्, पीडित परिवारले अहिले जाहेरी दिएका छन्,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘आरोपीको खोजी भइरहेको छ।’ उनका अनुसार बालिकाको परिवारले गर्भ सात महिना भएपछि मात्रै थाहा पाएको बयान दिएका छन्।
प्रहरीले बालिकालाई दुई दिन परामर्श केन्द्रमा राखेको थियो। मंगलबार स्वास्थ्य परीक्षणका लागि उनलाई महाकाली प्रादेशिक अस्पताल ल्याएको छ। परामर्शपछि बालिकालाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।