काठमाडौं– सोमबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको संयुक्त बैठक बस्यो । बैठकले राष्ट्रपति निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने र सकेसम्म सबै दलको सहमति लिने निर्णय गर्यो । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भनेका थिए, ‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो, यसका लागि उम्मेदवार दिनुअगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरू हामी छलफल गर्छौं । सकेसम्म सर्वसम्मत गर्नेछौ ।’ बैठक विशेष गरी राष्ट्रपतिको चुनावमा मात्र केन्द्रीत थियो । समय मै राष्ट्रपति निर्वाचन नहुने पो हो कि भन्ने संशयसमेत कांग्रेसमा देखिन्छ ।
पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले कुनै पनि कारणले राष्ट्रपतिको चुनाव पछि सार्न नहुने अडानसमेत लियो । ‘कुनै कानुनी ऐनमा समस्या भए समय मै समाप्त पारेर निर्वाचन प्रक्रिया अगाडि बढाउन हामीले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छौं,’ प्रवक्ता महतले भने, ‘यसबारे निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराएका छौं ।’ बैठकमा सहभागीका अनुसार पार्टी सभापति देउवाले पदाधिकारीहरू र पूर्वपदाधिकारीलाई परिणाम हात लाग्ने गरी राष्ट्रपति निर्वाचनमा एकताबद्ध भएर जानुपर्ने बताएका थिए । सरकारलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गत पुस २६ मा कांग्रेसले अप्रत्याशित निर्णय गर्यो । त्यो निर्णय थियो– प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिने । सरकारलाई विश्वासको मत दिएपनि सत्ता गठनन्धन दलहरूले सभामुख र उपसभामुख चुनावमा कांग्रेससँग कुनै छलफल गरेनन् । कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी दियो तर सत्ता साझेदार दलका उम्मेदवारसँग पराजित भए ।
त्यसपछि कांग्रेसको ध्यान राष्ट्रपतितर्फ गएको छ । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले सहयोग गर्ने आशा कांग्रेसमा छ । तर सत्ता गठबन्धनमा राष्ट्रपति नेकपा एमालेको भागमा परेको छ । राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गरे सत्ता गठबन्धन धरापमा पर्छ । राष्ट्रपतिमा एमालेलाई सहयोग गरे भोलिका दिनमा राष्ट्रपतिबाट हुने काम, कारबाहीमा सहयोग नपाइने पो हो कि भन्ने दुविधामा माओवादी केन्द्रमा छ ।
हुन त राष्ट्रपति पद आलंकारिक हो । तर दलहरूले राष्ट्रपति पदलाई कार्यकारी जसरी महत्त्व दिइरहेका छन् । पूर्व तथा वर्तमान राष्ट्रपतिका कामबाट समेत यस्तै अनुमान लगाउन सकिन्छ । राष्ट्रपति पद संविधानको रक्षक, सबैको साझा, सबैलाई एकैनाशको व्यवहार गर्ने हो । तर, अहिलेसम्मका राष्ट्रपतिबाट यो भएको छैन । जो राष्ट्रपति भए उनीहको काममा दलीय गन्ध आउँछ । प्रथम राष्ट्रपति डा. रामवरण यादव हुन् वा दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी हुन् उनीहरू दलको प्रतिनिधिको रूपमा काम गरेको घटना आम नागरिकको मानसपटलमा ताजै छ ।
राष्ट्रपतिमा कांग्रेसबाट उम्मेदवार को?
प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले माओवादीले राष्ट्रपति निर्वाचनमा आफूहरूलाई सहयोग गर्ने विश्वासमा कांग्रेस सभापति देउवा छन् । संसदीय दलको नेता चयनमा सभापति देउवालाई सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका आकांक्षी हुन् । हुन त पौडेल प्रधानमन्त्रीका आकांक्षीसमेत थिए । तर संसदीय दलको नेतामा भने पौडेलले देउवालाई विजयी गराए ।
देउवालाई दलको नेता बनाएपछि पौडेलको मोह राष्ट्रपतितर्फ मोडिएको हो । तत्कालीन गठबन्धनलाई निरन्तरता दिई प्रधानमन्त्रीमा दाहाल र राष्ट्रपतिमा आफू हुने पक्षमा पौडेल थिए । तर देउवाको बालहटका कारण तत्कालीन गठबन्धन भत्कियो । यसबाट पौडेल असन्तुष्ट थिए । तर, पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि राजनीतिक कोर्स बदलिएको र हाइज्याक भएको गठबन्धनलाई फिर्ता ल्याइएको पौडेलले अभिव्यक्ति दिएका थिए । पौडेल राष्ट्रपतिका लागि दौडधुप गरिरहेका छन् ।
यसबीचमा पौडेलले प्रधानमन्त्री दाहालसँगसमेत छलफल गरिरहेका छन् । मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा दाहाल पौडेलको निर्वाचन क्षेत्र तनहुँ क्षेत्र नं १ पुगेका थिए । चुनावी सभामा दाहालले पौडेललाई विजयी गराउन मतदातालाई अपील गरे । उनले ‘बचन’पनि दिए पौडेललाई जिताएर पठाए प्रधानमन्त्री बनाउँछु भनेर । भलै त्यो वचन भने दाहालले पूरा गर्न सकेनन् । तर पौडेललाई राष्ट्रपति बनाएर आफूलाई ‘वचनको पक्का’ सावित भने दाहालले गर्न सक्ने ठाउँ अझै छ । कांग्रेस पार्टीले पौडेललाई राष्ट्रपति पदको उम्मेदवार बनाउन मात्र पर्यो ।
सिटौलाको नाम पनि जोडियो राष्ट्रपतिमा
सोमबारको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठकमा सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्रीले सहयोग गर्न सक्नेबारे ब्रिफिङ गरे । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार देउवाले राष्ट्रपतिमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिए । ‘सभापतिज्यूले भ्रातृ तथा शुभेच्छुक संस्थाको पूर्णतालगायत विभिन्न विषयमा छलफल गर्न बैठक बोलाउनुभएको थियो,’ ती पदाधिकारी भने, ‘कुराकानीकै क्रममा प्रधानमन्त्रीसँग हालै भएका भेटबारे उहाँले कुरा राख्नुभयो । राष्ट्रपतिमा हामीले उम्मेदवारी दिने हो, रामचन्द्रजी र सिटौलाजीको नाम आएको छ भन्नुभयो ।’ सिटौलाको नाम पहिलो पटक राष्ट्रपतिमा सोमबार मात्र जोडिएको हो । सिटौला गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा—३ बाट उम्मेदवारी दिएका थिए, तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पराजित गरे ।
बृहत शान्ति सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेका सिटौला राजनीतिक घटनाक्रमको ‘सिन’मा छैनन् । राष्ट्रपति उम्मेदवार हुन सांसद नभए पनि हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै पार्टीले राष्ट्रपति उम्मेदवार तोक्ने सिटौला बताउँछन् । सभापति देउवा पक्षका नेताहरू भने पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउनुपर्नेमा छन् । देउवा संसदीय दल नेता उठ्दा पौडेल प्रस्तावक बनेको र त्यसबेला राष्ट्रपतिमा पौडेललाई अघि सार्ने ‘बचन’ दिइएको देउवा निकट नेताको दाबी छ ।
राष्ट्रपतिमा किन सिटौलाको नाम आयो ?
सिटौला कांग्रेसभित्र कोइराला परिवार नजिक थिए । सिटौला तत्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाका ‘खास’ थिए । बृहत शान्ति सम्झौताको मस्यौदा गर्ने जिम्मेवारीसमेत सिटौलाले पाए । दोस्रो जनआन्दोलनको जगमा पुनःस्थापित प्रतिनिधि सभामा गिरिजाले सिटौललाई मनोनित गरेनन् मात्रै गृहमन्त्रीसमेत बनाए । गिरिजाको निधनपछि सुशील कोेइरालाले उनलाई पार्टीको महामन्त्री बनाए । सुशील कोइरालाको निधनपछि भने कांग्रेसभित्र सिटौलाले नयाँ गुट सुरु गरे । जसलाई कांग्रेसीले ‘थर्ड पोल’ भन्छन् ।
सिटौला सुडान घोटाला काण्डमा समेत मुछिएका हुन् । उनी गृहमन्त्री हुँदा सुडान घोटाला काण्ड भएको थियो । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरूको खरिदमा अनियमितता गरेर करीब २९ करोड रुपैयाँ हिनामिना गरेको घटनालाई सुडान घोटाला काण्डले चिनिन्छ । सो मुद्दामा तीन पूर्व प्रहरी महानिरीक्षक, सामान खरिद गर्ने एजेण्टसमेत कैद सजाय भुक्तान गरेपनि सिटौलालाई चोख्याइएको थियो ।
राजनीतिक दवावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटौलाविरुद्ध मुद्दा दायर नगरेको चर्चा त्यतिबेला हुन्थ्यो । सिटौलालाई भारतले रूचाएको व्यक्तिसमेत भनिन्छ । उनलाई राष्ट्रपतिमा अघि सार्नु त्यसैको परिणाम त होइन भन्ने आशंका समेत प्रकट भइरहेका छन् । एक जना कांग्रेस नेता भन्छन्, ‘यदि राष्ट्रपति निर्वाचनमा कांग्रेसको पक्षमा नतिजा नआउने हुन्थ्यो भने किन पौडेल, सिटौलाको नाम आउथ्यो । उम्मेदवार दिनलाई उठाइए जसरी अन्य सामान्य नेताको नाम आउथ्यो होला नि त । प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच केही सहमति पक्कै भएको छ ।’