भोजपुर– अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । गत वर्ष प्रतिमन ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन् ।
धान, तथा मकै बाली हटाएर व्यावसायिक रुपमा अलैँची खेती गरिरहेका किसानले मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशतको हारहारीमा मूल्य गिरावट आएको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका अलैँची कृषक चक्रबहादुर विष्टले जानकारी दिए ।
यस वर्ष चोलन्ती गाउँमा रहेको करिब छ सय मन अलैँची प्रतिमन २४ हजारका दरले मात्र बिक्री भएको उनले बताए । 'यस वर्षमा अलैँचीले सोचे जस्तो मूल्य पाएन', विष्टले भने।
अलैँचीको मूल्य घटेपछि अन्य बाली हटाएर व्यावसायिक रुपमा अलैँचीको खेतीमा लागेका किसानहरु मारमा परेको उनको भनाइ छ । विगतमा राम्रो मूल्य पाएपछि किसानहरुले हौसिएर अलैँची खेती गरेको भए पनि अहिले निराशा छाएको विष्टले बताए ।
मूल्यमा गिरावट आउन थालेपछि कतिपय कृषकले बगान नै गोड्न छाडेको कृषक विष्टको भनाइ छ । यसरी नै मूल्य घट्दै जाने हो भने अलैँचीको विकल्पमा अन्य बाली लगाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
'पाँच/छ वर्षअघिसम्म अलैँचीको मूल्य राम्रो थियो', विष्टले भने, 'हामीले नै प्रतिमन एक लाख २० हजारसम्म बेचेका थियौँ । त्यो बेला मूल्य राम्रो पाएपछि धान खेत मासेर अलैँची लगाइयो अहिले समस्या भयो । समय फेरियो अब फेरि अलैँचीको विकल्पमा अरू बाली लगाउनुपर्ने अवस्था छ ।'
अलैँचीले राम्रो मूल्य पाएपछि विदेश जान छाडेर यही व्यावसायिक खेतीमा लागेको भए पनि मूल्यमा आएको गिरावटको कारण समस्या भएको युवा अलैँची कृषक सुवास विष्टले बताए।
भोजपुरमा सात सय १९ हेक्टर क्षेत्र अलैँची खेतीयोग्य जमिन रहेको भए पनि पाँच सय ९७ हेक्टरमा अलैँची उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष भोजपुरमा दुई सय ३२ मेट्रिक टन अलैँची उत्पादन थियो ।
भोजपुरको दोभाने, कुदाकाउले, साम्पाङ्ग, अन्नपूर्ण, चम्पे, खावा, चोलन्ती, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा, हेलौछा, गुप्तेश्वरलगायत १७ बढी ठाउँमा मुख्य रुपमा अलैँची उत्पादन हुने गर्दछ ।