धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की २५ वर्षीया गर्भवती महिला कन्या रानाको गत आइतबार सेती प्रादेशिक अस्पतालमा ज्यान गयो। बच्चाको पेटभित्रै मृत्यु भएपछि अस्पताल भर्ना भएकी रानाको स्वास्थ्यमा थप समस्या आएर मृत्यु हुन पुगेको अस्पतालले जनाएको छ। स्वास्थ्यमा जटिल समस्या देखा परेकोले रानालाई बचाउन नसकिएको सेती प्रादेशिक अस्पतालले स्पष्ट पारेको छ। मृतक रानामा मुटुमा जटिल समस्या देखिएकाले ज्यान गएको अस्पतालको रिपोर्टले देखाएको छ।
यो एक प्रतिनिधि घटना हो। कैलालीमा गर्भावस्थामा नियमित जाँच गर्ने, गराउने काम नहुँदा गर्भावस्थामा जटिल समस्या आउने गरेको छ। जसका कारण मातृ तथा शिशु मृत्यु दरसमेत शून्यमा झार्न नसकिएको स्वास्थ्य अधिकारी बताउँछन्।
सरकारको नीति भने नियमित र निःशुल्क गर्भवतीको जाँच गर्ने र सुरक्षित प्रसूती सेवा प्रदान गर्ने रहेको छ। तर प्रदेशको राजधानी धनगढीमा समेत स्वास्थ्य संस्थामा सुत्केरी हुन नआउनेको संख्या उच्च छ। गत वर्ष धनगढी उपमहानगरपालिकामा घरमै सुत्केरी हुनेको संख्या १६ रहेकोमा चालु आर्थिक वर्षको मंसिरसम्म १२ जना पुगेको छ।
धनगढीमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत वडामा गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ। तर पनि चालु आर्थिक वर्षको पाँच महिनमा धनगढीको वडा नम्बर १७ मा ४ जना, १० मा ३ जना, १२ मा २ र वडा नम्बर ११, १५ र ३ मा एक/एक जनाले घरमै बच्चा जन्माएका छन्। धनगढीमा घरमा हुने सुत्केरी शून्यमा झार्न सकिएको छैन। बरू घरमा सुत्केरी हुने संख्या बढ्न लागेको देखिएको छ। तर, उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले भने घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्न आमा सुरक्षा कार्यक्रमअन्तर्गत वडाहरूमा एम्बुलेन्स हस्तान्तरण गरिएको बताएका छन्।
'हामीले घरमै हुने सुत्केरी र प्रसूतिपछि पनि स्वास्थ्य सेवा लिन सहज होस् भनेर आमा सुरक्षा कार्यक्रम लागु गरेका छौँ,’ उनले भने, ’यो कार्यक्रम लागु भएको एक महिना मात्रै भएको छ, वडा नम्बर १७ मा वर्थिङ सेन्टर सञ्चालन गर्ने र आमा सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरेर घरमै हुने सुत्केरी शून्यमा झार्ने गरी अब काम हुन्छ।’
कैलाली जिल्लाका सुगम पालिकामा समेत संस्थागत सुत्केरी शतप्रतिशत पुर्याउन सकिएको छैन। पहाडी पालिका मोहन्याल र चुरेमा भने घरमा हुने सुत्केरी उच्च रहेको स्वास्थ्य अधिकारीले बताएका छन्। चुरे गाउँपालिकामा चालु आर्थिक वर्षको पुससम्म ७३ जनाले संस्थागत सुत्केरी सेवा प्राप्त गर्दा ३६ जनाले भने घरमै बच्चा जन्माएका छन्। चुरेमा ९ वटा स्वास्थ्य संस्था भए पनि ३ वटा मात्रै वर्थिङ सेन्टर छन्। पूर्वाधार, उपकरण, जनशक्ति र भौगोलिक विकटताको कारण संस्थागत सुत्केरी शतप्रतिशत पुग्न नसकेको स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले बताए।
'चुरे गाउँपालिकाका कुनै कुनै बस्ती बझाङ र बाजुराभन्दा दुर्गम छन्, ती बस्तीमा सडक सुविधा छैन,' उनले भने, 'पूर्वाधार, उपकरण, जनशक्ति र भौगोलिक विकटताका कारण घरमै सुत्केरी भइरहेका छन्।'
कैलालीको गौरीगंगा नगरपालिकाले गर्भवती महिलालाई सेवा दिन ५ वटा एम्बुलेन्ससँग सम्झौता गरेको जनाएको छ। तर, यो वर्षको पहिलो ६ महिनामा घरमै सुत्केरी हुने महिलाको संख्या एक दर्जन छ। गौरीगंगामा संस्थागत सुत्केरी गराउनेको संख्या भने ३६९ रहेको स्वास्थ्य शाखाले जनाएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जिल्लाका १२६ महिलाले घरमै बच्चा जन्माएको स्वास्थ्य कार्यालय कैलालीका सुरक्षित मातृत्व फोकल पर्सन रमा गिरीले बताए।
'स्वास्थ्य कार्यालयमा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय तहको स्वास्थ्य शाखाबाट आउने तथ्याङ्क नै फरक देखिने गरेको छ,' उनले भने, 'कैलालीमा चालु आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्क हेर्दा चुरे र मोहन्यालमा घरमै हुने सुत्केरी संख्या बढी छ।' गिरीले अगाडि थपे, 'धनगढी उपमहानगरपालिका पनि घरमा हुने सुत्केरीको संख्या बढेको देखिएको छ।'
स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको चालु आर्थिक वर्षको मङसिरसम्मको तथ्याङ्क हेर्दा चुरे गाउँपालिकामा सबैभन्दा बढी ३६ जना महिला घरमै सुत्केरी भएका छन्। यस्तै, मोहन्याल गाउँपालिकामा १६ महिलाले घरमै बच्चा जन्माएका छन्। धनगढी,बर्दगोरिया र गौरीगंगामा समान १२ जना घरमै सुत्केरी भएका छन्। यसैगरी, गोदावरी नगरपालिकामा ११ जनाले घरमै बच्चा जन्माउनु परेको तथ्याङ्कले देखाएको छ भने लम्कीमा ४ जनाले, भजनीमा ७ र टीकापुरमा १ जना गर्भवतीले घरमै बच्चा जन्माएका छन्।
तर, कैलालीका तीन गाउँपालिका कैलारी, जोशीपुर र जानकी गाउँपालिकामा भने चालु आर्थिक वर्षको मंसिरसम्म घरमा सुत्केरी हुनेको संख्या शून्य छ।
चिकित्सकहरूले भने घरमै सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्यमा जोखिम अत्यधिक हुने र ज्यानै जान सक्ने अवस्था आउने भएकाले सुरक्षित प्रसूतिका लागि संस्थागत सुत्केरी गाउनुपर्ने बताएका छन्। घरमै सुत्केरी हुँदा आमा र शिशुको स्वास्थ्यमा समस्या आउने र ज्यानसमेत जान सक्ने खतरा उच्च रहेको सेती प्रादेशिक अस्पतालका वरिष्ट कन्सल्टेन्ट प्रसूति रोग विशेषज्ञ डाक्टर खगेन्द्र भट्टले बताए।
'घरमै सुत्केरी गराउँदा आमा र शिशुको स्वास्थ्य र ज्यानमा समेत जोखिम बढ्छ,' उनले भने, 'लामो व्यथा लाग्ने, अत्यधिक रक्तश्राव हुने, रक्तचाप बढ्ने, आमा मुर्छा पर्ने, बच्चा निसास्सिएर मर्न सक्ने र आमाको पाठेघर फुट्न सक्ने जोखिम हुन्छ।'
आमा तथा नवजात शिशुको स्वास्थ्यमा समस्या नआओस् भनेर सरकारले सुरक्षित मातृत्व सेवा प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावारण निर्माण गर्नुपर्ने हो। तर पूर्वाधार, जनशक्ति, जनचेतना र भौगोलिक विकटताजस्ता कारण देखाएर संस्थागत सुत्केरी नभएको पालिकाले बताउने गरेका छन्।
संस्थागत सुत्केरी शतप्रतिशत पुगाउन कैलाली जिल्लाका सुगम पालीकासमेत असफल देखिएका छन्। यसैगरी, गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच र उचित स्वास्थ्य परामर्श सेवा प्रदान गर्न स्थानीय तह असफल देखिएको घरमै हुने सुत्केरी दरले पुष्टि गरेको छ। प्रदेशको एक मात्र उपमहानगरपालिका र सरकारी तथा नीजि सुविधासम्पन्न अस्पताल रहेको धनगढीमा समेत असुरक्षित सुत्केरी हुने क्रम रोक्न सकिएको छैन।