ए राँडाराँडी हो ! कहाँ मरेका छौ ? हेरहेर सुकाएको धानभरि परेवा र कुखुराहरू झुम्मिसके । ए पापी हो ! कि नधपाएका ? मालिकको धान के छ र मोरामोरीहरूलाई ? आफ्नो भए पो मन दुख्छ । होइन, म बूढी यस्तरी कराउँदा पनि नसुनेका हौ कि, अटेर गरेका हौ ? घाँटी पनि सुकिसक्यो कराउँदाकराउँदा । लोग्ने हुँदा एक पल्ट चिच्याउँदा नोकरहरू जम्मै आइहाल्थे । अब त ज्यान पनि बलियो छैन, बूढो पनि छैन । सबैले टेर्न छाडिसके । खै के चिच्च्याउनु काम न काजसँग ? कुरा सुने पो ।
सकीनसकी झ्यालबाटै बेटीमायाले स्य…स्य…गर्दै कुखुरा र परेवालाई धपाउन खोज्छे, सास बढ्छ, सक्दिन । अझै धानभरि कुखुरा र परेवाहरूले मस्तसँग राइफाँडो गर्दै छन् ।
आ…जेसुकै होस्, मलाई मात्रै के वास्ता ? बेटीमायाले झ्यालबाट टाउको लुकाउँछे । माघको जाडोले बुढ्यौली शरीर कक्रिन्छ । टुक्रुक्क चकटीमा दोलाई ओढेर बसेकी बेटीमायालाई कहाँ पो शान्ति हुनु ? मन आगोले झैँ पोल्न थाल्छ । यसका बाबुको सम्पत्ति हो र ? मेरो पुरुषार्थले जम्मा गरेको सम्पत्ति पो । फेरि झ्यालबाट हेर्दै फलाक्छे । किन मर्न आएनन् यी नोकरचाकरहरू ? कहाँ मरी यो कान्छी पनि ? आफैँले दुःख गरेर आर्जन गरेको सम्पत्ति भए पो माया लाग्छ ।
नोकरहरू र कान्छी सौतीले सुनेर पनि नआएका हुन् कि नसुनेर नआएका हुन् बेटीमायाले बुझ्न सक्दिन । उसलाई सहिसक्नु भएन । बिस्तारै तल झर्छे । पोहर सालदेखि उसलाई पनि दमको रोगले समातेको छ । धानमा निमग्न कुखुरा र परेवाहरूलाई दलानको कुनामा ठड्याएर राखेको लट्ठी लिएर स्य…स्य…गर्दै धपाउन थाल्छे । घरपछाडि बारीबाट हाँसोको आवाज सुन्छे र जान्छे, जहाँ कान्छी सौता र घरका नोकर-हरुवाचरुवाहरू निबुवा र भोगटे साँधेर खाँदै रहेछन् । बेटीमायालाई झोक चल्छ ।
“बाबै नि ! यिनीहरू यहाँ पो खान मरेका रहेछन् । दरिद्रहरू । अहिलेदेखि हो चिच्च्याएको म ! कस्तो नसुनेको तिमीहरूले ? परेवा र कुखुराहरूले सुकाएको धान सखाप पार्न थालिसके । सुकाएपछि कुरेर बस्नुपर्छ भन्ने थाहा छैन ? बगैँचाको निबुवा र भोगटेको पनि सह राख्ने भएनन् । कति खान सकेका रातदिन ? कति पचेको यिनीहरूलाई ?”
जेठी सौता बेटीमायाको गाली सुनेपछि कान्छी सौता कदमकुमारी पनि किन चुप लागेर बस्थी र ? उसले पनि घोचपेच सुनाउन थाली— “काम न काजसँग चुरौटेनीझैँ कराएकी ! जहाँ बसे पनि चियो गर्न टुप्लुक्क आइपुग्छे । अहिलेदेखि हो कराएकी पनि ! यो मर्ने बेलामा त यस्ती चण्डाल्नी छे, उमेरमा त छोइनसक्नु थिई । कति खालान् र धान चराचुरुङ्गीहरूले । मान्छेले पेटभरी खाएको सहन नसक्नेले चराचुरुङ्गीहरूले सित्तैँमा खाएको कहाँ सहन्थी र ? चित्त पनि कति सानो हो ! आफूले नसकेपछि चुप लागेर बस्नु नि । त्यसैत्यसै चिच्च्याएर तर्साउन खोज्छे । आफैँलाई मात्र वास्ता र माया भएको देखाउनुपर्ने । मुटु नै चुँडिएकला झैँ गरेर कराउने । बल हुँदा मेरी बाबै ! हामीलाई बस्नखान दिन्नथी । एकछिन बस्दा रडाको मच्चाएर लोग्नेलाई नानाभाँति छुल्याउँथी । अब त यसको हेपाइमा बस्छु र ? सबैको एक न एक दिन भाग्य खुल्छ । जसको छोराछोरी छैन उसैलाई बढी चिन्ता । तातो न छारोसँग ।”
सुन्ने हरुवाचरुवा र नोकरहरू गलल हाँस्छन् । उनीहरूको उपहासको हाँसोमा बेटीमाया चिप्लिएर भुइँमा बजारिन्छे । संयुक्त हाँसो झन् चर्किन्छ । किनकिन बेटीमायालाई उनीहरूको सम्मुख ऐया…भनेर आफ्नो पीडा सुनाउन मन लाग्दैन । एक जोसमा आएको उसको अधिकार सम्पन्न आवाज सौता कदमकुमारीको आगोको ज्वालाजस्तो वचनको लप्काहरूले भस्म भएर जान्छ । ऊ बिस्तारै उठ्छे र नूर गिरेको अनुहार लिएर त्यहाँबाट चुपचाप हिँड्छे ।
“हो त नि, व्यर्थै म किन कराउँछु हँ ? मेरो कुरा कसले सन्छन् र ? मेरा को छन् र ? सबै त सौताकै हुन्, छोराछोरी पनि उसैका छन् । बूढो हुन्जेल त मानसम्मान थियो, सबै कुरामा मेरै हक थियो, अधिकार थियो । कसले कुरा काट्न सक्थे र मेरो ? सौता पनि थर्कमान थिई मसँग । नोकर, हरुवाचरुवा मेरो एउटै आवाजमा त्राहिमाम हुन्थे । त्यसरी नोकरहरूको अगाडि मेरो अपमान गरेपछि किन टेर्थे र ? यस्तो अपहेलित र दुर्भाग्यपूर्ण जिन्दगी लिएर के बाँच्नु ? हे भगवान् ! अब त छिट्टै काल आए पनि हुन्थ्यो नि !”
बेटीमाया पेटीमा बसेर एक्लै भुनभनाउन थाल्छे— “यो घरका लागि मैले कति दुःख गरेँ, कति त्यागतपस्या गरेँ । कति हैकमवाली भएर बसेकी थिएँ यो घरमा । अब त जिन्दगी भीरबाट खस्दै गइरहेछ । मलाई समाउने र रक्षा गर्ने कोही पनि त छैनन् । जसलाई आफ्नो सम्झेकी थिएँ सबै पराया भए । यतिसम्म कि मेरो नाउँमा भएका अचल सम्पत्ति पनि छैन । सब जफत भइसके । सौताको जेठो छोरोले व्यापार गर्न मेरो गरगहना माग्यो दिएँ, व्यापार पनि गर्दै छ । आज चार वर्ष भाये गहना लगेको, एउटा गहना पनि फर्काएको छैन । माग्दा उल्टै गाली खानुपर्छ, के माग्नु ? माया मारिसकेँ ।
सौताको कान्छो छोरोले आफ्नी आमालाई भन्दा मलाई बढ्ता माया देखायो, चाकडी गर्यो, बिरामी हुँदा स्याहार्नसम्म स्याहार्यो । मेरो नाउँमा पास भएको चार बिघा खेत उसको नाउँमा पास गरिदिएँ । खेत उसको नाउँमा पास नगर्दासम्म कति चापलुसी र चाकडी गर्यो, अहिले सबै खेत बिक्री गरेर सहरमा घर किनेर बसेको छ । आज दुई-तीन वर्ष भइसक्यो न त सहरमा बस्न बोलाउँछ मलाई न त गाउँमै आउँछ । जीवनभर सुख दिएर पाल्छु भनेर प्रतिज्ञा गरेको थियो, के विश्वास भयो र ?
सौताका दुइटी छोरीहरूले म मर्ने बेलामा दान गर्न साँचेर राखेको पुराना कटन, दोपट्टा र सिल्काका साडीहरू म नभएको बेला बक्साको ताला नै फोडेर सबै झिकेछन् । गाली गर्दा उल्टै मलाई झपार्दै भने- ‘मेरो बाबुको सम्पत्ति लिएका हौँ, तपाईंको सम्पत्ति हो र ?’ सौताले पनि ढुकुटी र धनसारको साँचो मेरो हातबाट खोसिसकेकी छे । अब त जिन्दगी जोगीको जस्तो भएको छ । न त एक माना चामल दान दिन नै सक्छु न त बोरामा धान भरेर बिक्री गर्न नै सक्छु । आज कुन बेला खान दिन्छ भनेर कुर्नुपर्छ । घरको कुनै कुरा लिने र आफू खुसी गर्ने मेरो अधिकार छैन । हरे ! कस्तो दुर्गतिपू्र्ण जिन्दगी भयो मेरो ।” बेटीमायाको आँखाबाट बरबर आँसु झर्छ ।
===
आफ्नो सम्पन्न माइतमा बाबु नभएको, सोझी सानीआमा र साना भाइबहिनीहरूबाट फाइदा उठाएर तीस-चालीस तोला सुन, सयौँ तोला चाँदी, असङ्ख्य भाँडाकुँडाहरू बीसौँ भरियाहरूलाई बोकाएर रातारात जगदीशसँग पोइल गएकी थिई बेटीमाया । कति निर्दयी र कठोर पाइला चालेकी थिई उसले । जिन्दगीभरको लागि माइतीको ढोका उसका लागि बन्दा भएको थियो । एकै दिनमा उसले घरलाई भरिपूर्ण बनाई भने माइतीलाई कङ्गाल । लोग्ने जगदीश बेटीमायाप्रति कृतज्ञ थियो। तर दसौँ वर्ष बित्दा पनि दुर्भाग्यवश बेटीमायाको कोख भरिएन । सबै धर्मकर्म औषधीउपचार व्यर्थ भए ।
दाजुभाइहरूले भन्न थाले— “त्यो अपूताको सम्पत्ति कसले खाने हो र ? उसको माइतबाट ओसारेको सम्पत्ति हामीले त हो खाने ।”
यो कुरालाई बेटीमायाले अत्यन्त गम्भीरतापूर्वक लिई र मनमनै अठोट गरी— “कुनै पनि हालतमा यो सम्पत्ति दाजुभाइलाई खान दिनेछैन । जुनसुकै दुःखकष्ट सहेर पनि लोग्नेलाई अर्को बिहे गर्न लगाउनेछु । सौताका छोराछोरी भए पनि आखिर लोग्नेकै छोराछोरीले नै सम्पत्ति खाऊन् ।”
साँच्चै नै बेटीमायाले उदार मन गरेर बजारको चिनेको रमेश वैद्यकी छोरी कदमलाई आफ्नो लाग्नेका लागि माग्न गई । पहाडको घर र खेत कदमकुमारीको नाउँमा जिउनी लेखिदिएर बिहे पक्का गरेर घर फर्केकी थिई । लाग्ने नयाँ दुलाहा हुने दिन आफैँले दूबोको माला उनेर लाग्नेको गलामा पहिराइदिएकी थिई ।
लोग्नेले हर्षले गदगद भएर अन्डाको सगुन खाँदै भनेको थियो- “बेटी, तिमी मेरी स्वास्नी मात्र होइनौ, आजदेखि माई भयौ । सौताको कारण जीवनभर तिम्रो हृदय दुखाउनेछैन । यो मेरो प्रतिज्ञा हो । यो घरको सम्पूर्ण काम तिम्रो निर्देशन र सरसल्लाहअनुसार हुनेछ ।”
नौमती बाजा बजाउँदै लोग्ने उलिन्काठामा बसेर गएपछि बेटीमाया बारीको कटहरको बोटमुनि कसैले नदेख्ने गरेर मनग्गे रोएकी थिई । त्यस बेला इष्टमित्र आफन्त र छरछिमेमीहरूले बेटीमायाको आँट र बहादुरीको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
सौता कदमकुमारीले वर्षदिनभित्रै छोरो पाई । घरमा हर्षको सिमाना रहेन ।
छोरा जन्मेपछि लोग्नेले सोध्यो- “छोरा कस्तो छ ?”
बेटीमायाले जवाफ दिई- “कानै भए पनि केही छैन । आखिर तपाईंको छोरा हो ।”
एवं रीतले कदमले चार सन्तान पाई— दुई छोरा दुई छोरी । सबै छोराछोरीलाई आफ्नै सन्तानलाई झैँ अत्यन्त माया गरेर हुर्काई बेटीमायाले । तर एउटा कुरा के सत्य थियो भने लोग्ने जगदीशले कहिल्यै पनि कान्छीको कोठामा रात बिताएन । जब ऊ चाहन्थ्यो, अनि रातको मध्यतिर कान्छीको कोठामा लुसुक्क पस्थ्यो, अनि फेरि जेठीकै कोठामा फर्कन्थ्यो । कान्छी सौता एकदमै कम बोल्थी, कम हाँस्थी, सधैँ उदासउदास रहन्थी । कहिल्यै कुनै पनि कुरामा बेटीमायासँग झगडा गरिन, मनमुटाव गरिन । सधैँ डरले खुम्चिएर बस्थी । बेटीमायाले सौतालाई आफ्नै इच्छाअनुसार साडी किनिदिन्थी, माया पनि गर्थी, चित्त नबुझेको कुरामा गाली गर्थी । सौताको मन परोस् नपरोस्, रिसाएर र दुःखी भएर बसोस् नबसोस् बेटीमायालाई कुनै मतलब थिएन । ऊ घरकी सर्वेसर्वा थिई, सब कुरा उसकै खटनपटनमा चल्थ्यो ।
बेटीमायाकै इच्छा, कर र अग्रसरतामा लोग्नेलाई नवलपुरमा खेत किन्ने सल्लाह दिएर पहाडको सबै बेचबिखन गरेर नवलपुरमा बसाइँ सरेका थिए । मधेसमा उनीहरू सम्पन्न जमिनदार कहलिएर बसे । त्यहीँ बस्दाबस्दै दुइटी छोरी र जेठो छोराको बिहे गरेपछि दमको रोगले ६ वर्षअगाडि जगदीशको मृत्यु भएको थियो । त्यसपछि बेटीमाया सम्पूर्ण रूपमा अधिकारविहीन भई । उसको जीवनको घाम सधैँका लागि अस्तायो ।
===
यी सब विगतका आफ्ना शक्तिसम्पन्न इतिहास सम्झेर बेटीमायाभित्र एक प्रकारको लुप्त हुन लागेको जोस रन्थनिएर आउँछ । सोच्छे ऊ- “म किन झुकूँ यस्ती मागिखानेकी छोरी सौतासँग ? यसले जम्मा गरेको सम्पत्ति हो र यो ? जीवनको अनितम घडीसम्म पनि म झुक्दिनँ । सौताको आक्षेपहरू किन म चुपचाप सहन्छु ? पख्लिस् कुकुर्नी । यसलाई म बाँकी राख्छु र ?”
जबसम्म उसलाई रक्सीको मात लागिरहन्छ तबसम्म घाँटी सुकाईसुकाई सौतालाई गाली गरिरहन्छे, आफ्नो असन्तुष्टि फ्याँकिरहन्छे । जब रक्सीले छोड्छ तब बेटीमाया सौताको क्रोध र गालीको अगाडि फतक्कै गल्छे, जवाफ दिन सक्दिन ।
बेटीमाया भएभरको शक्ति आफूभित्र बटुलबाटुल गरेर छिमेकी थारूको घरमा पस्छे र एक बोतल घरपाला रक्सी तनतन पिउन थाल्छे । अक्सर धेरैजसो बेटीमायाले यस्तै गर्छे— जब उसलाई रिस उठ्छ, ऊ थारूको घरमा परेर रक्सी पिउँछे र जथाभावी सौतामाथि फोहोर शब्दहरू निकालेर गाली गर्छे । यसो गर्दा उसलाई शान्ति मिलेको अनुभव हुन्छ ।
जबसम्म उसलाई रक्सीको मात लागिरहन्छ तबसम्म घाँटी सुकाईसुकाई सौतालाई गाली गरिरहन्छे, आफ्नो असन्तुष्टि फ्याँकिरहन्छे । जब रक्सीले छोड्छ तब बेटीमाया सौताको क्रोध र गालीको अगाडि फतक्कै गल्छे, जवाफ दिन सक्दिन।
आज पनि बेटीमायालाई दिउँसै रक्सी लाग्छ, धङधङाउँदै सौता भएको ठाउँमा आएर झाँक्रीझैँ हल्लिन थाल्छे- “ए नकच्चरी ! तँ मसँग किन फुर्ती गर्छेस् ? तँ मागिखानेकी छोरी । तँलाई पहाडको खेत जिउनी लेखिदिएर तेरो बाबुसँग किनेर ल्याएकी । तँ त कमारी होस् । आज यो घरमा मैले गर्दा मोज गर्न पाएकी छस् । यत्रो सम्पत्तिको मालिक्नी हुन पाइस् । यो सारा सम्पत्ति मैले जोडेकी हुँ थाहा छ ? मेरो लोग्ने मरेपछि मेरो हातखुट्टा काट्न खोज्ने ? मेरो अधिकार हडप्न खोज्ने ? यो घरमा तँलाई बस्ने अधिकार छैन । बुझिस् ?”
बेटीमाया रुँदै अपशब्द फलाक्दै, साडी उचाल्दै बौलाहीझैँ कराउन थाल्छे ।
सौतको वाणीबाट जथाभाबीसँग निस्केको तीखो वाण बेटीमायाको छाती छेडिन्छ । बेटीमायालाई रक्सीले छ्याङ्गै छोड्छ । उसलाई लाग्छ, आजसम्म ऊ त घृणा र उपेक्षाको दलदलभित्र बाँचेकी रहिछ ।
सौता कदम पनि किन कम हुन्थी र ? आफ्नो खाना पकाउने बाहुन रामेलाई भनेर कागतीपानी बेटीमयालाई जबरजस्ती खुवाइदिन्छे । अनि सौता पनि सारा क्रोध खन्याउन थाल्छे- “पिण्ड खाने बेलामा थारूको घरमा गएर रक्सी घिचेर बेइज्जती तालले कराउन लाज लाग्दैन ? माइतीलाई कङ्गाल पारेर ल्याएको सम्पत्तिको के धाक लागउँछौ ? तिमी त माइतीमारा हौ, आफ्नै भाइबहिनीलाई मारेर ल्याएका हौ यो सम्पत्ति । आफ्नै माइतीमा डाँका मारेर ल्याएका हौ यो सम्पत्ति । तिमीले आफ्नो पाखुरी खियाएर कमाएको सम्पत्ति हो र घमन्ड गर्ने ? मसँग बडो फुर्ती छाँट्ने ? यो सम्पत्ति त सबै नाश भएर जानुपर्थ्यो । दुनियाँले माइती कङ्गाल पार्ने स्वास्नीमान्छे भनेको सुन्दा त तिमीले विष खाएर मर्नुपर्थ्यो कि यही पाखुरीको रूखमा पासो लाएर झुन्डिनुपर्थ्यो । लाेग्ने हुन्जेल यसको फुर्ती हेरिनसक्नु थियो । तिमीले त मलाई थाङ्नामा सुताएकी थियौ । मेरो काम त छोराछोरी पाउनु त थियो । घरको कुन कुरामा मलाई अधिकार दिएकी थियौ ? पापिनी, अपराधिनी !”
सौतको वाणीबाट जथाभाबीसँग निस्केको तीखो बाण बेटीमायाको छाती छेडिन्छ । बेटीमायालाई रक्सीले छ्याङ्गै छोड्छ । उसलाई लाग्छ, आजसम्म ऊ त घृणा र उपेक्षाको दलदलभित्र बाँचेकी रहिछ । सौताका यी मर्मघाती आरोपहरू के सत्य हुन् त ? साँच्चै हुन् ।
ऊभित्र अपराधबोधका जुलुसहरूले नारा लगाउन थाल्छन्— “बेटीमाया ! तिमीले जीवनमा माइतदेखि घरसम्मको यात्रामा धेरै पाप गरेकी छौ । जीवनको अन्तसम्म तिमी यो पापको दहभित्रै डुब्नेछौ ।”
सोच्दासोच्दै बेटीमायाको आँखावरिपरि पापको पर्खाल अग्लिँदै जान्छ । उसका दुवै आँखा बन्द हुन्छन् । पर्खाल भत्किन्छ । बेटीमाया त्यही पर्खालमुनि पुरिएर मूर्च्छित हुन्छे ।