भैरहवा– सेवा लिन आउने सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बिहीबारबाट टाइमकार्ड लागू गरेको छ । प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसको समयमा आउनेलाई पहेंलो टाइमकार्ड उपलब्ध गराएर सेवा दिने गरी चाजोपाजो मिलाएको हो ।
प्रशासनले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट वितरणमा सहजता ल्याउन टाइमकार्ड लागू गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरतमणि पाण्डेले जानकारी दिए । ‘प्रमाण पुर्याएर आउने सेवाग्राही अब लाइनमा बसिरहनु पर्दैन, फाइल बोकेर प्रत्येक शाखा–शाखा धाइरहनु पनि पर्दैन’, पाण्डेले भने, ‘सबै सेवालाई एकद्वार प्रणालीमा ल्याउन र नागरिकलाई छिटोछरितो सेवा दिन टाइमकार्ड लागू गरेका हौं ।’
सेवाग्राहीले रितपूर्वक आफ्नो प्रमाणहरुको कागजातसहित निवेदन पेस गरेपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, इ–पासपोर्ट लिन प्रशासनमै कुरेर बस्नुपर्ने छैन । निवेदन दिएपछि टाइमकार्डमै यति समयपछि आउनु भनेर प्रशासनले समय तोकिदिनेछ । त्यसपछि तोकिएको समयमा आएर सेवाग्राहीले आफ्नो नागरिकता वा अन्य कागजात लिएर जान सक्नेछन् । ‘फाइल पेस गरेर टाइमकार्ड पाएपछि सेवाग्राही यही बस्न पनि सक्नुहुनेछ, अन्यत्र आफ्नो काम भए त्यो काम सकेर तोएिको समयमा आउन पनि सक्नुहुनेछ’, पाण्डेले भने, ‘यसले सेवामा सहजता ल्याउँछ नै सेवाग्राहीको समयको बचत पनि हुन्छ ।’
प्रशासनले कार्यालयबाट हुने सबै किसिमका सेवा प्रवाहमा गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई भने टाइमकार्ड लागू नहुने र तोकिएको कर्मचारीबाट तत्कालै सेवा पाउने जनाएको छ । टाइमकार्डमा कुन कागजात बनाउन कति समय लाग्छ र कति समयपछि आउने भन्ने तोकिएको हुन्छ । प्रशासनले नयाँ नागरिकता लिँदा प्रमाण पुर्याई १२ बजेभित्र आएका निवेदनलाई दिउँसो १ बजेभित्र, १२ बजेपछि आएकालाई ३ बजेसम्म र ३ बजेसम्म पेस हुन आएका निवेदनलाई ४ बजेसम्म नयाँ नागरिकता उपलब्ध गराउने गरी समय तोकेको छ ।
यस्तै, नागरिकताको प्रतिलिपी र राष्ट्रिय परिचयपत्र बनाउन प्रमाण पुर्याएर आउने सेवाग्राहीलाई निवेदन पेस भएको एक घण्टाभित्र सेवा दिइसक्ने प्रशासनले जनाएको छ । इ–पासपोर्टका हकमा भने पहिला नै फाराम भरी आएका सेवाग्राहीलाई सोही दिन तोकिएको समयमा सेवा दिने र इ–पासपोर्ट टोकन प्रणालीअनुसार सोही दिन वितरण हुने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए ।
‘टामइकार्ड प्रभावकारी हुँदै गयो भने हामीले सेवाग्राहीको चाप हुने जिल्लाका सबै कार्यालयमा यो सेवा लागू गर्नेछौं’, पाण्डेले भने, ‘यसका लागि तयारी पनि सुरु गरिसकेका छौं ।’ तथ्यांकअनुसार प्रशासनबाट दैनिक नयाँ नागरिकता एक सय, नागरिकताको प्रतिलिपी ८०, राष्ट्रिय परिचयपत्र २ सय र इ–पासपोर्ट २ सयको हाराहारीमा वितरण हुँदै आएको छ । यसबाहेक इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता बनाउने काम हुँदै आएको प्रशासनले जनाएको छ ।
‘हामीले यस अघिदेखि बाटै लामो समय पर्खेर सेवा लिने झन्झटिलो अवस्था हटाउन नागरिकता वितरण कार्यलाई दिनमा दुईपटक वितरण गर्ने, इ–पासपोर्ट र राष्ट्रिय परिचयपत्रको प्रि–इनरोलमेन्टको लागि स्थानीय तहबाटै निःशुल्क अनलाइन फाराम भर्ने व्यवस्था पनि मिलाएका छौं’, प्रजिअ पाण्डेले भने, ‘टाइमकार्ड लागू भएपछि प्रशासनबाट हुने सेवा प्रभाव झनै प्रभावकारी हुने विश्वास हाम्रो छ ।’