काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या लगभग टुङ्गिन लागेको छ। निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतपरिणामअनुसार सातवटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने देखिएको छ। सात दलले राष्ट्रिय दलको मान्यता पाए पनि प्रतिनिधि सभामा कुल १२ दलको सहभागिता रहने भएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदूर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको संसदमा सहभागिता निश्चित भएको हो ।
मतपरिणामअनुसार १२ वटा राजनीतिक दलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले पहिलो प्रयासमै कम्तीमा एक सिट जितेर समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशतको थ्रेसहोल्ड पूरा गरी राष्ट्रिय दलको मान्यता पाउन लागेका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका छन्।
नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने राष्ट्रिय दलको मान्यता नपाउने स्थितिमा छन्। यद्यपि तीन निर्वाचन क्षेत्रको गणना जारी नै रहेकाले नेकपा (एस)को पक्षमा नाटकीय मत आए मात्रै उसले राष्ट्रिय मान्यता पाउने अवस्था रहन्छ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्नुपर्नेछ। निर्वाचनबाट दलले राष्ट्रिय मान्यता प्राप्त गरेको अवस्थामा संसद् सचिवालयबाट विभिन्नप्रकारको सुविधा पाउनयोग्य हुनेछ।