काठमाडौं– काठमाडौं महानगरपालिका, चाबहिल मैजुबहालकी शारदा बस्नेतले विद्यालयका बालबालिकालाई १५० थान न्यानो कपडा प्रदान गरेकी छिन् । उनले शुक्रबार काठमाडौंको सिफल स्थित वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयका छात्र छात्राहरूलाई १५० थान स्वेटर, टोपी र मोजा प्रदान गरेकी हुन् ।
शुक्रबार विद्यालयमा आफ्नै उपस्थितिमा बस्नेतले कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका छात्र छात्राहरूलाई उक्त न्यानो कपडा वितरण गरिन् । सो क्रममा उनले भनिन्, 'आगामी दिनहरूमा पनि यस्ता सहयोग जारी रहनेछ ।'

बस्नेतले यस विद्यालयमा विभिन्न समयमा शैक्षिक उपलब्धिका लागि आर्थिक सहयोग पनि गर्दे आएकी विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद भण्डारीले बताए । भण्डारीका अनुसार, 'गतवर्ष उहाँले सासु ससुराको नाममा र यस वर्ष आफ्नाे आमा बुबाको नाममा गरी करिब ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको छ ।' हामिले गत वर्षको ब्याजबाट विद्यार्थीहरूलाई छात्रवृति वितरण गरेका छौं अब अर्को वर्ष बढी ब्याज आउला झन धेरै विद्यार्थीलाई छात्रवृति बाँड्ने छौं ।' प्रअ भण्डारीले बताए ।
सामाजिक परीक्षण प्रतिवेदन अनुमोदन
वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयको शुक्रबार बिहान सामाजिक प्रतिवेदन २०७८ अनुमोदन भएको छ । विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीका माझ प्रअ श्यामप्रसाद भण्डारीले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन उपस्थित सम्पूर्णले अनुमोदन गरेको हो । प्रतिवेदन अनुमोदन कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष विमलकुमार होडा थिए । उनले आफ्नो मन्तव्य राख्दै भने, 'सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि विकासका लागि म, मेरो टिम र महानगर कटिबद्धताकासाथ लागिपर्ने छौं ।' उनले अबको शिक्षा व्यावसायिक हुनुपर्नेमा पनि जोड दिए । उनले भने, 'बालबालिकाले आफूले शिक्षा लिइ सकेपछि त्यसलाई व्यवहारमा उपयोग गर्न सकेन भने त्यो शिक्षा उपयोगी हुँदैन ।'

उनले विद्यालय र बाल संगठनबीच सुमधुर सम्बन्ध रहँदा रहँदै पनि विद्यालयले चर्चेको जग्गा भोगचलन गर्न नपाएकोमा दुःख लागेको तर अबको केही वर्षमा त्यो समाधान हुने बताए । उनले भने, 'दुबै संस्था सरकारी हो, यसमा पनि दुवैबीच सुमधुर सम्बन्ध छ, रह्यो विद्यालयले चर्चेको जग्गा कुरा मेरो कार्यकालको थोरै समय भएको छ । अबका केही वर्षमा यो समस्याले निकास पाउनेछ । म त्यसको लागि अहोरात्र लाग्नेछु ।' कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद बडाल, शिक्षक विद्यार्थी संघका अध्यक्ष हरिकृष्ण खरेलले आप्ना धारण राखेका थिए भने विव्यसका पदाधिकारीहरूको उपस्थिति थियो ।



