भैरहवा— पोखराबाट चारदशक अघि उद्योग संचालन गर्न भनेर भलवारी (भैरहवा बुटवलको बीच) आइपुगेका थिए, उद्योगी चन्द्रमान श्रेष्ठ । सिद्धार्थ राजमार्ग बन्ने क्रममा जंगल फाँडेर बस्ती पनि बसाल्ने र कृषिमा विकास गर्ने योजना तत्कालीन सरकारको थियो । यसका लागि तत्कालीन पंचायती व्यवस्थाले भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना लागु गरि रुपन्देहीका ३८ वटा पंचायतलाई जोडेको थियो ।
३८ वटा पंचायतमा रहेका खेतमा सिंचाई पुर्याउन नहर निर्माण गरि उत्पादित उपज बजारसम्म लैजान नहरको साथमा दुईतर्फी कृषि सडकको निर्माण भएको थियो । ‘सरकारले त्यतिबेला कृषिको विकास गरि राइस मील खोल्न प्रेरित गरेकाले मैले पनि राइस मिल खोलें’, त्यसबेलाको कुरा सम्झँदै श्रेष्ठले भने, ‘उतिबेला धान चामल भारत निर्यात हुन्थ्यो ।’
बुटवल क्षेत्र आवादीले भरिँदै जान थालेपछि भैरहवाबाट दक्षिणतर्फ बिस्तार हुन भारतसँगको सिमानाले रोकिएपछि उत्तरतर्फ बस्ती बिस्तार हुँदै गयो र यी दुई सहरको बीचको भू–भाग अति चाँडो विकसित हुन थालेको ठम्याई उनको छ । भैरहवादेखि बुटवल एउटै शहरको रुपमा जोडिएपछि योजनाबद्ध ढंगले आगामी योजना बनाउन जरुरी भएको उनले बताए ।
हुन पनि अब भारतसँगको सिमाना सुनौली–बेलहियादेखि झण्डै २६ किमी उत्तरको दुरी बुटवलसम्मको भू–भाग जोडिएर पुरै सिंगो शहर जस्तै बनेको छ । सिद्धार्थ राजमार्ग तयार भएपछि क्रमशः बन्दै गएका भौतिक पूर्वाधार र संरचनाले यही स्थान अहिले बिशाल आधुनिक शहरको रुपमा परिणत भएको छ ।
उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटनका कारण आर्थिक लगानीको हव बन्दै गएको छ । स्वदेश र बिदेशी लगानीलाई आकर्षित गर्ने स्थल बनेको छ । ‘त्यतिबेलाको भैरहवा–बुटवललाई अहिले दाँजेर हेर्दा सपनाबाट ब्युँझेजस्तो अपत्यारिलो लाग्छ’, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा भैरहवाका पुराना व्यवसायी ओमकार गौचनले भने, ‘अहिले जस्तो घरमा शौचालय बनाउने चलन थिएन ।’
सिद्धार्थ राजमार्ग संचालनमा आएपछि भारतसँग हुने आयात निर्यातको मुख्य नाकाको रुपमा भैरहवा स्थापित हुन थालेको उनी बताउँछन् । सिद्धार्थ राजमार्गको निर्माणले सुरुवात गरेको यस क्षेत्रको विकासमा भैरहवाको गौतमबुद्ध विमानस्थल, लुम्बिनी रण अम्बिका आँखा अस्पताल, तत्कालीन समयमा भैरहवामा रहेको महेन्द्र सुरगरमिल, युनिभर्सल शिक्षण अस्पतालले थप योगदान दिए ।
उत्तिकै महत्वपूर्ण भूमिका सुनौलीदेखि ९ किमी परको नौतनवा शहरको रेल–वे लाइनले पनि खेल्यो । नौतनवाको रेल–वेका कारण पनि भैरहवा क्षेत्रमा उद्योग संचालन गर्न धेरै आकर्षित भए । लुम्बिनीका कारण स्वदेश र अन्तर्राष्ट्रिय नजरमा पनि यस क्षेत्र केन्द्रित हुन पुग्यो । लुम्बिनी औद्योगिक करिडोर, भैरहवा–परासी औद्योगिक करिडोर, बुटवल औद्योगिक क्षेत्र, भैरहवा–बुटवलका उद्योगले यस क्षेत्रको आर्थिक चलायामान हुन थाल्यो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र, छ लेनमा बिस्तारित भैरहवा–बुटवल व्यापारिक मार्ग, चार लेनमा बिस्तारित भैरहवा–लुम्बिनी बिस्तारित सडक, एशियाली विकास बैंकको सहयोगमा भैरहवामा निर्माण सम्पन्न भएको क्षेत्रीय शहरी विकास आयोजना, लुम्बिनीमा सम्पन्न हुने क्रममा रहेको लुम्बिनी गुरुयोजना, लुम्बिनीलाई केन्द्रित गरि बुद्धसँग सम्बन्धित स्थलहरुलाई जोड्ने बुद्ध परिपथ योजना, भैरहवाको बेथरी–तामनगर सडक आयोजना लगायतका आयोजनाले यस क्षेत्रको विकासका ढोका खुल्ला गरेको छ ।
‘भैरहवा–बुटवल एउटै शहरको रुपमा जोडिएपछि लगानीका अथाह सम्भावना बढ्दै जान थालेका छन्’, सिद्धार्थ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले भने, ‘पर्यटन, कृषि, उद्योग र व्यापारमा स्वदेशी र बिदेशी लगानी बढ्दो छ ।’ सिद्धार्थ राजगमार्गलाई जोड्ने गरि भित्री दर्जनौं सडक निर्माण भएकाले पनि रुपन्देहीका ग्रामीण बस्ती तिब्र गतीमा शहरीकरणतर्फ उन्मुख हुँदै जान थालेको उनले बताए ।
उनका अनुसार, रुपन्देहीमा बढ्दो औद्योगिक लगानीले स्थानीय रोजगारी सिर्जनामा बृद्धि गर्नुको साथै अर्बौं मूल्य बराबरको आयातलाई प्रतिस्थापन समेत गरेको छ । बढ्दो शहरीकरणसँगै शिक्षा, स्वास्थ्य, यातायत, मनोरञ्जनका क्षेत्रमा पनि लगानी आकर्षित भैरहेको न्यौपानले बताए ।
भैरहवास्थित नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयका अनुसार, रुपन्देहीमा क, ख, ग, घ बर्गका गरि कुल बित्तीय संख्या ५ सय ३० छ । यी बित्तीय संस्थाबाट कुल लगानी निक्षेप १ खर्ब ७९ अर्ब १८ करोड ७ लाख रुपैयाँ छ भने कुल लगानी २ खर्ब ६९ अर्व १४ करोड ७२ लाख रुपैयाँ छ । निक्षेपको तुलनामा लगानी १ दशमलव ५० प्रतिशत धेरै छ ।
रुपन्देहीमा छिमेकी जिल्लाबाट समेत निक्षेप र लगानी हुने गरेको छ । पछिल्लो समयमा भैरहवा क्षेत्रमा ठूला होटल तथा रिसोर्टमा लगानी बढेको छ । एक दर्जन भन्दा धेरै पाँच तारे होटल निर्माणका क्रममा छन् । भैरहवा–बुटवलका खण्डका सडकमा विगतका जस्ता खाली ठाउँ छैनन् । सडक छेउछाउ घरैघर छन् । उद्योग–कलकारखाना पनि उत्तिकै छन् । बस्ती बाक्लो भएको छ । पर्यटक लक्षित होटल धमाधम खुलिरहेका छन् । यसबाट पनि विगतमा दुई सहरको पहिचान बनाएका बुटवल–भैरहवा एउटै सहरका रुपमा जोडिएका छन् ।