धनगढी— बैतडीमा बुधबार घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिला फेला परेकी छन् । पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहार घाँटी रेटीएको अवस्थामा भेटिएकी हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना भएकी लुहार सेवा अवधि सकिएपछि घर फर्किएकी थिइन्। मंगलबार घरबाट कपडा सिलाउन भनी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारसँग पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी उनी घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । भदै नेहा पनि घाइते अवस्थामा थिइन्।
घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ।
मायाको हत्या आशंकाको घेरामा सशस्त्र प्रहरीका एक जना जवान परेका छन्। केही दिन पहिला पञ्चेश्वर घर भएका सशस्त्र प्रहरीका जवानले मायाको मोबाइल खोसेको कुरा जानकारीमा आएकाले उनी शंकाको घेरामा परेका पञ्चेश्वर गाउँपालिका-४ का वडा अध्यक्ष जनकबहादुर चन्दले बताए। घटनापछि ती सशस्त्र प्रहरीका जवान फरार छन्। प्रहरीले भने घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको बताएको छ। माया, भर्खरै सम्पन्न भएको निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन्।
घटना
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुई जना साथीहरूसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए ।
घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदै हुन्। उनीहरूसँगै घरबाट लुगा सिलाउन गएका अन्य दुई जना बेलुका घर फर्किए । तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् ।
कुलाउमै इष्टमित्र भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे । तर, उनीहरु दोस्रो दिन बिहानसम्म सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारका सदस्यहरुले कुलाउमा रहेका इष्टमित्रलाई सम्पर्क गरे।त्यहाँ पनि उनीहरु भेटिएनन्। त्यसपछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा लागे । नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगामा घाइते अवस्थामा फेला पारे ।
नेहाले मायाको घाँटी रेटर हत्या भएको सुनाइन्। गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो ।