काठमाडौं– वरिष्ठ गीतकार तथा साहित्यकार राजेन्द्र थापा गीत संगीतको क्षेत्रमा अझै सक्रिय छन् । नेपाली सेनाको जागिरबाट अवकाश पाएपछि उनीसँग पढ्न र लेख्नका लागि प्रशस्तै समय छ । उनी कि त अखबार पढिरहेका हुन्छन् । अरु जे जे गरेपनि उनलाई गीत, कथा, कविता, उपन्यास नलेखी हुँदैन ।
साहित्य संगीतको क्षेत्रमा स्थापित हुन कहिल्यै संघर्ष गर्नु नपरेको राजेन्द्र सुनाउँछन् । उनले पोहोर साल खुशी फाट्दा, पर लैजाउ फूलहरू, याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ, दर्शन नमस्ते, गाला रातै, पहिलो नम्बरमा लगायतका ५ हजारभन्दा बढी चर्चित गीत लेखेका छन् । आफूले लेखेका गीतहरू गाएर राजेश पायल राई, शिव परियार जस्ता गायकहरू चर्चित भएकोमा राजेन्द्रलाई खुसी लाग्छ ।
बाल्यकाल र साहित्यसँगको सम्बन्ध
उमेरले सात दशक नाघेका राजेन्द्र काठमाडौैंको डिल्लीबजारमा जन्मिएका हुन् । पहिले डिल्लीबजार, पुललीसडकमा अहिलेजस्ता गगनचुम्बी भवनहरू थिएनन् । राजेन्द्र खेल्नका लागि साथीहरूसँग पुतलीसडकका ठूला–ठूला फाँटहरूमा पुग्थे । घाम उदाउनुअघि उठेर फाँटमा दौडिने राजेन्द्रलाई अहिले डिल्लीबजार, पुतलीसडक देख्दा आफू धेरै छिटो बूढो भएजस्तो लाग्छ ।
त्यतिबेला काठमाडौंमा अलि ठूलो बजार भनेको डिल्लीबजार मात्र भएको राजेन्द्र बताउँछन् । ‘शहरको बीचमा गाडी चल्ने एउटा मात्र बाटो थियोे,’ उनी भन्छन्, ‘त्यो बाटो पशुपति र गौचरन जान्थ्यो ।’ राजेन्द्रका बुबा प्रहरीमा जागिरे थिए । २०१७ सालतिर राजेन्द्रको बुबाको सरुवा वीरगञ्ज भयो । उनी त्यहाँ नारायणी अञ्चलको प्रमुख भएर गएका थिए । राजेन्द्र पनि बुबासँगै वीरगञ्ज गए । वीरगञ्ज जाँदा राजेन्द्र आठ वर्षका मात्र थिए ।
वीरगञ्ज पुगेपछि राजेन्द्रको हिन्दी भाषासँग पनि सम्बन्ध गाँसियो । उनले हिन्दी भाषाका बालपत्रपत्रिका र साहित्य पढ्न थाले । अनि सुरु भयो राजेन्द्रको साहित्यिक यात्रा । उनले आफ्नो पहिलो कविता पनि वीरगञ्जमै लेखे । ‘मैले त्यतिबेला हिन्दी साहित्य धेरै पढ्न पाएँ । काठमाडौंमा बसेको भए सायद म हिन्दी साहित्य पढ्न पाउँदैनथे होला,’ उनी भन्छन्, ‘हिन्दी साहित्य पढ्न नपाएको भए सायद मेरो क्षमता बाहिर आउने थिएन होला । किनकि हामीसँग सीमित किताब थिए । म भिन्न हुनुमा हिन्दी साहित्यको ठूलो हात छ । साहित्य भनेको क्रिएसन मात्र होइन । यो अरूसँग लिने हो । मैले बाल्यकालमा अरू किताबबाट लिए ।’
वीरगञ्ज बसेको एक वर्ष बित्दा नबित्दै प्रेमचन्द, शरदचन्दलगायतका उपन्यास, जासुसी उपन्यास, कथा, कविताबारे जानकार हुँदै गएका थिए राजेन्द्र । त्यसरी साहित्य पढ्ने धुनमा स्कुलको पढाइ कमजोर हुँदै गएको उनी बताउँछन् । ‘ती साहित्यहरूले मलाई यसरी डाइबर्ट गरिदिए कि, प्रथम हुने मान्छे पास मात्रै हुन थालेँ ।’
०१९ सालमा राजेन्द्र काठमाडौँ फिर्ता भए । काठमाडौं फर्किएपछि उनी पद्मोदयमा भर्ना भएर बाँकी पढाइ पूरा गर्न थाले । काठमाडौं आएपछि पनि उनको साहित्य लेखन यात्रा भने चलिनै रह्यो । ‘१४ वर्षमै मैले स्कुलदेखि युनिभर्सिटीसम्मका कविता प्रतियोगितामा सिल्भर मेडल पाएको थिएँ,’ उनी भन्छन्, ‘मैले जिन्दगीमा आजसम्म पनि सबैभन्दा ठूलो ठानेको सम्मान त्यही हो । त्यतिबेला छन्दको जमानामा छन्दहीन श्लोक या गद्यले त्यो पनि फुच्चेले जित्नु सोच्नै कठिन थियो ।’
सेनामा भर्ती र पहिलो गीत रेकर्डिङ
२०२६ सालमा राजेन्द्र सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भए । त्यसै वर्ष उनले १६ वर्षको उमेरमा लेखेको गीत ‘मेरो गीत’ रेकर्ड भयो । जसमा शिवशंकर मानन्धरले संगीत भरेका थिए । निर्मला श्रेष्ठले गीतमा स्वर दिएको थापा बताउँछन् । ‘यही गीतले निर्मला श्रेष्ठलाई स्थापित बनायो,’ उनी भन्छन्, ‘यो गीत मैले आफैँ गएर गाउन लगाएको पनि होइन । साथीमार्फत शिवशंकर दाइकहाँ पठाएको हुँ ।’ त्यसपछि उनका गीतहरूको माग बढेको राजेन्द्र बताउँछन् । ‘त्यो गीत लेखिसकेपछि त अन्य गीतको माग आइरह्यो,’ उनले सुनाए । राजेन्द्रका गीत योगेश वैद्य, प्रेमध्वज प्रधानलगायतले गाए भने लगातार पाँच वर्ष शिवशंकरले नै संगीत भरे ।
२०३३ सालमा राजेन्द्रले ‘पोहोर साल खुसी फाट्दा’ गीत लेखेका थिए । राजेन्द्रले संगीतकार अम्बर गुरुङलाई ०३१ सालमा पहिलोपटक पोखरामा भेटेका थिए । राजाको सवारीका लागि तत्कालील नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट गुरुङसहितको टोली त्यहाँ पुगेको रहेछ । राजेन्द्र त्यतिबेला सेनाका कप्तान थिए र सवारीकै लागि खटिएका थिए । उनले सुनाए, ‘अम्बर गुरुङले मेरा कविता र गीतहरू निकै मनपर्छ भन्नुभयोे । गीतमा कविता हाल्ने मान्छे कमै हुन्छन् भनेर तारिफ गर्दै काठमाडौंमा भेटौँ न भन्नुभएको थियो ।’
दुई वर्षपछि मात्रै राजेन्द्र र अम्बरको भेट भयो । अम्बरले राजेन्द्रसँग गीत मागे । ‘उहाँले आफैं गीत माग्नुभो । नत्र त्यत्रो ठूलो संगीतकारलाई मेरो गीत गाइदिनुस् भनेर दिने आँटै थिएन,’ राजेन्द्रले सुनाए । केही महिना बितेपछि उनले गुरुङलाई ‘पोहोर साल’ गीत दिए । त्यतिबेला गुरुङ र नारायणगोपाल सँगै भएको राजेन्द्र सुनाउँछन् । ‘हरिभक्त कटुवालले लेखेको ‘पोखिएर घामको झुल्का’ गीतको रेकर्डिङ सकेर दुवै जना रेडियो नेपालको गेटबाट निस्किँदै हुनुहुन्थ्यो,’ उनले सुनाए, ‘मैले आफ्नो गीत वाचन गरेर सुनाएँ । पछाडि रहेका नारायणगोपालले पनि सुनिरहनु भएको थियो ।’ त्यो गीत नारायणगोपालले गाउने कुरा पनि भएको रहेछ । यसबारे पछि गुरुङले गीतकार थापालाई खबर गरेका थिए । गीत दिएको केही महिनामै रेकर्ड भयो ।
‘म तालिमका लागि केही महिना विदेश गएको बेला नै गीत रेकर्ड भएर रेडियोमा बज्न थालिसकेछ । राम्रो चर्चा पनि पाएछ,’ उनले सुनाए, ‘तर, गीतमा नारायणगोपालको नभई अरुणा लामाको स्वर थियो ।’ पछि गुरुङसँग राजेन्द्रको कुरा हुँदा अरुणाले गीत हेरेर मैं गाउँछु भनेर हत्ते गरेपछि उनकै स्वरमा रेकर्ड भएको गुरुङले उनलाई सुनाएका थिए ।
त्यसैगरी, राजेन्द्रकै गीत प्रेमध्वज प्रधानले गाएको ‘पर लैजाऊ फूलहरू’ पनि निकै चर्चित गीत हो । यस्तै, ‘दर्शन नमस्ते’ले राजेशपायल राई र ‘क्या दामी भो’ले शिव परियारलाई निकै चर्चित बनायो ।यसैगरी, नेपाली चलचित्र क्षेत्रमा पनि उनले लेखेका गीतले निकै चर्चा पाएका छन् । ‘आँखामा अनुहार झ्याप्पै’, ‘गाला रातै’, ‘चिपक चिपक’लगायत चर्चित गीत राजेन्द्रले नै लेखेका हुन् ।
गीतपछि साहित्य
अमेरिकी लेखकबाट प्रभावित थापाले २०६८ सालमा उपन्यास ‘खेलौना’ प्रकाशन गरे । उनले त्यो उपन्यास २७ दिनमा लेखेर सकेका थिए । त्यो उपन्यास एक हप्तामै १० हजारप्रति बिक्रि भएको उनले बताए । ‘कान्तिपुर साप्ताहिकमा लेखक अश्विनी कोइरालाले विभिन्न महिलाको अन्तर्वार्ता राखेका थिए । मलाई स्मिता थापाको अन्तर्वार्ता सबैभन्दा मन पर्यो,’ उनले सुनाए, ‘उसले त्यो अन्तर्वार्ताको माध्यमबाट समाजमा चुनौती दिएकी छ । लोग्नेमान्छेले खेलौना बनाए भनेर चुनौती दिएकी छ । प्रत्येक घरमा स्मिता छन् । समाजमा पुरुषले महिलालाई यौन बाहेक अरु देख्दैनन् । त्यो प्रवत्तिविरुद्ध महिला उठे के होला ? मलाई खतरनाक लाग्यो । त्यहीँबाट खेलौना लेख्ने प्रेरणा जाग्यो ।’
महिलावादी उपन्यास भनेर उक्त उपन्यासमा धेरै आलोचना भएको पनि उनले सुनाए । ‘यो उपन्यासलाई खगेन्द्र संग्रौलाले यौन उपन्यास भन्छन, भाषा बिगार्यो भन्छन्,’ उनी भन्छन्, ‘तर, यो उपन्यास त्रिभुवन विश्वविद्यालय (टीयू)मा नारीवादी उपन्यास भनेर चर्चामा आयो । भाषामै शोधपत्र पनि भइसक्यो । संस्कृत पढेर आएकाहरुको भाषा आजको समयमा त लेखिन्न नि ।’
तर पुरुषवादी समाजमा यस्तो विषयमा आलोचना हुनु सामान्य भएको उनको भनाइ छ । उनी भन्छन्, ‘उक्त उपन्यासले आफूले जागिर छाड्दा पाएको पैसाभन्दा बढी पैसा पायो ।’
थापाले गीत, कविता, मुक्तक, कथा, उपन्यास मात्र होइन, नाटक पनि लेख्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘मेरो गीतमा विविधता आउनुको कारण पनि त्यही नै हो । मैले गीत, कविता, उपन्याससँगै धेरै नाटक पनि लेखेँ ।’