काठमाडौं– मानिसले जीवनमा कहिले बाध्यता त कहिले आवश्यकताले अनेक निर्णय लिनुपर्ने हुन्छ । कुनैकुनै निर्णय जिन्दगीको अभिन्न पाटो बनिदिन्छ । एक निर्णयले मानिसको जीवन नै परिवर्तन हुन सक्छ । लक्ष्य फेरिन सक्छ, उद्देश्य बदलिन सक्छ ।
मोइन उद्दिनको जीवनमा पनि यस्तै भयो । बाध्यताले हिँडेको बाटोमा उनले जीवनको नयाँ आयाम भेटे । मोइन काठमाडौंमा जन्मिए, काठमाडौं मै हुर्किए । शंकरदेव क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका मोइन पत्रकार बन्ने होडमा थिए । पत्रकारसँगसँगै उनलाई लेखक बन्नु थियो ।

पत्रकार नै बन्ने भएपछि त्यही क्षेत्रको सिकाइलाई अघि बढाउने सोचले मोइनले हिमालयन टाइम्समा ‘इन्टर्नसिप’ गरे । ‘इन्टर्नसिप’पछि मोइनले त्यहीँ जागिर पाए । डेढ वर्ष पत्रिकामा काम गरेपछि मोइनलाई यो क्षेत्रबाट पनि दिक्दारी महसुस भइसकेको थियो । त्यसपछि मोइनले बाटो परिवर्तन गरे । मोइन मुस्लिम समुदायका । काठमाडौँको इन्द्रचोकमा उनको पुर्ख्यौली पोते पसल छ । उक्त पसल बुबा र दाइले सम्हालिरहेका थिए । मोइनले पत्रकारिता छोडेर बुबा र दाइलाई पोते पसलमा सघाउन थाले ।
पुर्ख्यौली व्यवसायलाई नयाँ तरिकाले सञ्चालन गर्ने योजना पनि बनाएका थिए मोइनले । तर त्यहाँ पनि सोचेको जसरी मोइन रमाउन सकेनन् । उनी भन्छन्, ‘बिहान ८ बजे पसल खोल्नुपर्ने । बेलुका ८ बजे मात्रै पसल बन्द गर्नुपर्ने । कहिल्यै छुट्टी छैन । आफ्नो लागि समय नै हुन छोड्यो । मलाई पसलमा काम गर्नै मन लागेन । उकुसमुकुस भएको महसुस हुन्थ्यो ।’
सोही समयमा मोइनको आमा बिरामी परिन् । उनकी आमाको मुटुको शल्यक्रिया गर्नुपर्ने भयो । आमाको शल्यक्रियाको लागि मोइनका बुबाले ४ लाख रुपैयाँ जुटाउन प्रयास गरिरहेका थिए । तर आवश्यक पर्ने रकम जुटिरहेको थिएन ।

आर्थिक र मानसिक दवावबीच अचानक बुबालाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भयो । मोइन बुबाको हेरचाहको लागि २ महिना अस्पताल बसे । बुबाको डिस्चार्जपछि आमाको शल्यक्रिया भयो । आमाको शल्यक्रियापछि उनी फेरि १ महिना अस्पताल बसे । अस्पताल बसाइ कै क्रममा उनी विभिन्न कम्पनी, संघसंस्थामा जागिरको लागि आवेदन दिइरहेका थिए। परिवारलाई आर्थिक सहयोग गर्नुपर्ने दवाव थियो उनीमाथि ।
लेखक बन्ने सपना बोकेर आफूले कुनै बेला कोरेको खेस्रा बोकेर प्रकाशककोमा पनि धाइरहेका थिए मोइन । एक प्रकाशकले दिएको सुझाव सम्झेर उनी भन्छन्, ‘तिमीले लेखेको यी शब्द र हरफहरू बकवास छन् । लेख्ने नै हो भने देश घुम्नु, किताब पढ्नु । अझै शहर होइन तिमीले गाउँ, पहाड र पर्वत घुम्नु । त्यहाँ तिमीले कथा भेट्छौ । मेहनत नगरी लेखक बनिँदैन ।’

मोइनले ‘टिच फर नेपाल’मा पनि जागिरको लागि निवेदन दिएका थिए । शिक्षा र शैक्षिक जनशक्तिसँग सम्बन्धित काम गर्ने गैरसरकारी संस्था ‘टिच फर नेपाल’ मोइनले २ वर्षको फेलोसिप गर्ने अवसर पाए । मोइनले काम पनि गर्ने कथा खोजेर पछि लेखक बन्ने योजना आफ्नो मनमै बोकेर हिँडेका थिए ।
यत्तिकैमा फेलोसिपको लागि फिल्डमा काम गर्न नेपालको कुन जिल्लामा जाने भनेर ठाउँ मोइनले छनोट गरिसकेका थिएनन् । जहाँ गए पनि त्यहाँ गएर पढाउनुपर्ने मोइनको काम थियो । त्यही बेलामा कुन जिल्ला जाने भन्ने निर्णय गर्न मोइनलाई लेखक बन्न घुम्नुपर्ने बताउने प्रकाशकले सहयोग गरे ।

उनको सल्लाह अनुसार मोइन सिन्धुपाल्चोक जिल्ला जाने निर्णयमा पुगे । भौगोलिक रुपमा पनि धेरै टाढा नभएको तर ग्रामीण भेग भएकाले सिन्धुपाल्चोक सही गन्तव्य हो भन्ने मोइनले सोचे । घरमा आमा, बुबा दुबै बिरामी भएकाले जुनसुकै बेला काठमाडौं आउनुपर्ने परिस्थिति थियो उनलाई । त्यसैले मोइनलाई सिन्धुपाल्चोक नजिक लाग्यो । ‘टिच फर नेपाल’को फेलोसिपमा सिन्धुपाल्चोकको विद्यालय छनोट गर्नु नै मोइनको जीवनको टर्निङ पोइन्ट सावित भयो ।
त्यसपछि मोइनको जीवनको लक्ष्य नै परिवर्तन भयो । उनले सिन्धुपाल्चोकको तालामाराङस्थित तेर्से माध्यमिक विद्यालयमा माध्यमिक तहमा अंग्रेजी विषय पढाउथे । त्यहाँ गएपछि मोइनले दैनिक विद्यार्थीहरूसँग घुलमिल हुने र भ्लग बनाउने गर्थे । त्यती मात्रै होइन गृहकार्य नगर्ने विद्यार्थीको घरमा गएर के समस्याले गर्दा गृहकार्य नगरेको भनेर समेत मोइनले बुझ्न थाले । सिकाइमा मोइनको नयाँ प्रयोगलाई विद्यालयका शिक्षक र व्यवस्थापन समितिले समेत सहयोग गरे ।

दैनिक कामको भ्लग यूट्युवमा लगातार अपलोड गर्थे मोइन । मोइन भन्छन्, ‘त्यो भिडिओ विदेशीले पनि हेर्ने रहेछन् ।’ मोइनले बनाएको भिडिओ हेरेर सिङ्गापुरका एक नागरिकले नेपाल आएर तेर्से माध्यमिक विद्यालय अवलोकनसमेत गरे । ती नागरिकको आर्थिक सहयोगमा तेर्से माध्यमिक विद्यालयमा २ लाख रुपैयाँको लागतमा पुस्तकालय स्थापना भयो । तेर्सेमा मोइनले विद्यालय क्यान्टिन सुरु गरे । यसमा विद्यार्थीले आफ्नै सामग्रीबाट विद्यालयमा खाजा बनाएर खाने सिस्टम मोइनले बसाले। त्यति मात्र नभएर मोइनले विद्यार्थीलाई सिलाईबुनाईको तालिम र क्यामरा समेत चलाउन सिकाए।

त्यसको केही समयपछि डोनर (दाता) ले विद्यालयको लागि व्यवस्थित क्यान्टिनको निर्माण गरिदियो । त्यतिमात्रै होइन मोइनले तेर्से माध्यमिक विद्यालयका विद्यार्थीको लागि ‘करिअर एक्स्पोजर ट्रिप’को व्यवस्था गरे । यस ट्रिपअन्तर्गत मोइनले तेर्से माध्यमिक विद्यालयका विद्यार्थीलाई ५० वटा फरकफरक संघ/संस्थाहरूमा घुमाए। यसमा बैंक, अस्पताल, होटल, उद्योग, एयरलाइन्सलगायत क्षेत्र परे । यसरी विद्यार्थीलाई घुमाउँदा आफ्नो क्षमतामा विश्वास गर्ने र आफूलाई चिन्ने मौका मिल्ने मोइन बताउँछन्। सन् २०१८ देखि २०२० सम्म मोइन सिन्धुपाल्चोकमा बसे, तेर्से माध्यामिक विद्यालयमा पढाए ।

त्यसपछि उनको लक्ष्य परिवर्तन भयो। लेखकको साथै असल शिक्षक पनि बन्ने उदेश्य मोइनले लिए । शिक्षा क्षेत्रमा केही नयाँ गर्ने अठोट उनले लिए । सिन्धुपाल्चोकमा कयौँ कठिनाइ पार गर्दै विद्यार्थी शिक्षा हासिल गर्न आएको देखे । असल शिक्षा आर्जन गर्ने विद्यार्थीको अधिकारलाई सुनिश्चित गर्नुपर्छ भन्ने मोइनलाई लाग्यो । अब मोइनले पढाउँन डोल्पा जाने निर्णय गरे । त्यसपछि सन् २०२१ मा मोइन डोल्पा गए ।

उनको रोजाइमा परेको विद्यालय थियो क्रिष्टल माउण्टेन स्कुल । यो विद्यालय डोल्पाको धो तरापमा थियो । हिमाली जिल्ला डोल्पा गएपछि आफूले जीवन बुझेको मोइन बताउँछन् । त्यहाँ उनलाई सुरुको केही महिना मौसमसँग घुलमिल हुन गाह्रो भयो । तर विस्तारै बानी पर्यो । डोल्पा छुट्टै देश जस्तो भएको मोइनले अनुभव गरे । त्यहाँको खाना, पहिरन, जीवनशैली मोइनले अपेक्षा गरेभन्दा निकै फरक थियो । त्यहाँको खाने मुख्य खाना आलु र उवा भएको मोइन बताउँछन् । उनी भन्छन्, ‘खानामा धेरै खुर्सानी प्रयोग गर्ने भएकाले प्रायः सबै घरमा आन्द्रा र पेटको रोगी रहेछन् । मृत्युको कारण नै त्यही ।’

सरकारी शिक्षक पनि त्यहाँ पढाउन नजाने समस्या उनले देखे । उनले थपे, ‘राज्यको तलब भत्ता खाने कर्मचारी पनि त्यहाँ नपुगी सेवा सुविधा खाने रहेछन् । डोल्पाका विद्यार्थी भने आधारभूत आवश्यकताबाट पनि वञ्चित हुनुपर्ने ।’ डोल्पामा पनि मोइनले केही नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गरे ।
साहित्यिक मेला, विद्यार्थी अन्तरक्रियाजस्ता कार्यक्रमहरू सञ्चालन गरे । मोइन भन्छन्, ‘सिकाइ प्रणाली डोल्पाको पनि राम्रो छ । तर समस्या शिक्षकहरूमा छ ।’ शिक्षकहरूले एउटा विद्यार्थीमा सही तरिकाले सही शिक्षा प्रवाह नभएमा खराब शिक्षक, खराब, डाक्टर, खराब पाइलट, खराब ड्राइभर, खराब प्रधानमन्त्री, मन्त्री तथा सांसद उत्पादन हुने र त्यसले देश र जनतालाई ठूलो हानी पुग्छ भन्ने नसोच्दा शिक्षा क्षेत्र खस्किएको मोइनको भनाइ छ । उनी भन्छन्, ‘एक विद्यार्थी फेल हुनु भनेको एउटा शिक्षक मात्र नभई देश फेल हुनु हो । यति मात्रै बुझ्ने शिक्षक हुनुपर्छ ।’ मोइनले तराईका विद्यालयमा पनि पढाए । त्यहाँ उनले विभेद देखे । विभेद हटाउन एउटा शिक्षकले हिमाल, पहाड र तराई सबै ठाउँको विद्यालयमा पढाउनुपर्ने मोइन बताउँछन् ।

अहिले मोइन धादिङको गंगाजमुना गाउँपालिका–३ र ४ मा रुपान्तरणमुखी सिकाइ सहजकर्ताका रूपमा कार्यरत छन् । मोइनले राष्ट्रियस्तरको सम्मान र अवार्ड पनि पाएका छन् । बाचुञ्जेल आफूलाई शिक्षण पेशामा आबद्ध गराउने योजना बनाएको मोइनले न्यूज अखबारसँगको कुराकानीमा बताए ।
(मोइन उद्दिनसँगको कुरकानीपछि तयार पारिएको सामग्री)