+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तमुस्योलाई नेतृत्व विकास तालिम प्रदान

तनहुँ खबर
१० महिना अगाडी

दुलेगौंडा

शुक्लागण्डकी नगरपालिकाका तमुस्योहरुलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिको आयोजनामा नेतृत्व विकास तालिम प्रदान गरिएको हो ।

शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित पाँच दिने तालिमको शुक्रबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै शुक्लागण्डकीका उपमेयर खुमबहादुर विक (राजु) ले दलित र महिला समुदायलाई हरेक दृष्टिकोणबाट पछाडि पारिएको बताए । राज्यले महिलालाई अगाडि ल्याउन विशेष पहल गरिरहेको उनको भनाइ थियो ।

आफ्नो आवाज बुलन्द पार्नलाई पनि सबै बोल्न सक्नुपर्ने उनले बताए । ‘बोेलेर आफ्नो विषय राख्नुपर्छ । बोल्ने कुराले नै नेतृत्व विकास हुन्छ’, उनले भने । कला, संस्कृति र संस्कारको जगेर्नाका लागि पनि नेतृत्व क्षमताको विकास अपरिहार्य भएको उपमेयर विकले बताए ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिका अध्यक्ष मनराज गुरुङले गुरुङ समुदाय अब नेतृृत्व तहमा आउन आवश्यक रहेको बताए ।

तालिममा सहभागी प्रशिक्षार्थी सरु गुरुङले आत्मविश्वास बढेको अनुभव सुनाइन् । अब हरेक क्षेत्रमा अगाडि बढ्नुपर्छ भनेर तालिमले उर्जा भरेको उनको भनाइ थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् शुक्लागण्डकीका सल्लाहार समिति संयोजक खेमराज गुरुङ, तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् शुक्लागण्डकी नगर समितिका उपाध्यक्ष कुलप्रसाद गुरुङ, सहसचिव प्रज्जवल गुरुङ, तालिममा सहभागी रितु गुरुङ, आशा गुरुङ, माया गुरुङ, श्रेया गुरुङ, प्रतिभा गुरुङ लगायतले बोलेका थिए ।

दुलेगौंडाको होटल मिडटाउनमा चलेको तालिममा तनहुँ खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक विनोद ढुंगाना, शुक्लागण्डकी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख युवराज पौडेल, आमसन्देश डटकमकी कार्यकारी सम्पादक अस्मिता खनाल, रेडियो ढोरवाराहीकी कार्यक्रम संयोजक ममता गुरुङले सहजीकरण गरेका थिए । नेतृत्व विकाससँगै भाषणकला, उद्घोषणकला, माइनुटिङ लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

तनहुँ खबर